कांग्रेस सभापति बन्न गगनतिर लागे ४० हजार, देउवातिर लागे ३० हजार !

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसका दुई पक्ष यतिबेला एउटै महाधिवेशनका लागि फरक फरक मिति तोक्दै मैदानमा खटिएका छन् ।

विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति बनेका गगन थापा र १४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा यतिबेला पार्टीको १५ औं महाधिवेशनको संघारमा रहेका छन् ।

गगन पक्षको महाधिवेशन यही असोज १६ गतेदेखि तोकिँदा देउवा पक्ष भने मंसिरको तेस्रो साता महाधिवेशनको तयारीमा रहेका छन् ।

गगन पक्षले अधिवेशनका लागि वडा, पालिका सकिसकेको छ भने क्षेत्रीय अधिवेशन आज र भोली हुँदैछ भने देउवा पक्ष भने १५ गतेदेखि वडा अधिवेशनको तयारीमा छ ।

यतिबेला दुवै पक्षका निर्वाचन समितिले आ–आफ्ना काम गरिरहेका छन् । सोही अनुसार गगन पक्षबाट सभापतिको उम्मेदवारले निर्वाचन दस्तुरबापत ४० हजार तोकेको छ भने देउवा पक्षले ३० हजार तोकेको छ ।

देउवा पक्षले केन्द्रीय उपसभापति र महामन्त्रीका लागि २५ हजार शुल्क निर्धारण गरेको छ भने सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ तोकेको छ ।

त्यस्तै गगन पक्षले उपसभापति र महामन्त्रीका लागि ३० हजार रुपैयाँ तोकेको छ भने सहमहामन्त्री र केन्द्रीय सदस्यका लागि क्रमशः २० हजार र ११ हजार रुपैयाँ तोकेको छ ।

गगन पक्षले ७ लाख क्रियाशील सदस्य दाबी गरिरहँदा देउवा पक्षले भने ७ लाख ३० हजार क्रियाशील सदस्य रहेको तथ्यांक सार्वजनिक गरेको छ ।

यतिबेला कांग्रेसका दुई ध्रुवको तयारी हेर्दा असोजको १९ पछि नेपाली कांग्रेस दुई टुक्रा हुने अवस्था देखिएको छ ।

दुई नेताहरुको द्वन्द्वका कारण फाइदाका लागि यताउता गर्न सक्ने कार्यकर्ताहरुले भने दोहोरो फाइदा लिने सम्भावना देखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *