चन्द्रागिरिको पपुलर पफ तथा पाउरोटी उद्योगमा विभागको अनुगमन, नियमित सरसफाइ गर्न निर्देशन

Thankot Times

थानकोट ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले काठमाडौं र काभ्रेका ६ वटा खाद्य व्यवसायमा अनुगमन तथा निरीक्षण गरेको छ ।

विभागको टोलीले २०८३ असोज ९ र १० गते नियमित अनुगमनका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम निरीक्षण गरेको हो ।

चन्द्रागिरि नगरपालिका–३ स्थित अबबन फुड इण्डष्ट्रीज प्रा.लि. मा कोल्ड रुमको सरसफाइ पर्याप्त नरहेको तथा भण्डारण कक्षमा म्याद गुज्रेका ४ प्याकेट मसाला भेटिएको विभागले जनाएको छ । ती मसाला नष्ट गरिएको छ भने थप अनुसन्धानका लागि चिकेन ससेजको नमुना संकलन गरिएको छ । उद्योगलाई कोल्ड रुम नियमित सफाइ गर्न निर्देशन दिइएको छ ।

चन्द्रागिरि–६ स्थित बेबी ब्रेड एण्ड बेकरी को कच्चा पदार्थ भण्डारण कक्ष अव्यवस्थित रहेको पाइएको छ ।

बेकरीजन्य खाद्य पदार्थ उत्पादन तथा प्याकेजिङ भइरहेको नपाइएको र अनुमतिपत्र नवीकरण प्रक्रियामा रहेको विभागले जनाएको छ । भण्डारण कक्ष व्यवस्थित गर्न, कीट नियन्त्रणको प्रभावकारी व्यवस्था मिलाउन तथा नियमित सरसफाइ गर्न निर्देशन दिइएको छ ।

बुढानीलकण्ठ–४ स्थित युसा डेरी प्रा.लि. मा कीट नियन्त्रणको व्यवस्था सन्तोषजनक नरहेको पाइएको छ । उद्योगमा गरिएको प्रशोधित दूधको फ्याट र एसएनपी परीक्षण नेपाल सरकारको मापदण्डअनुसार रहेको तथा मोबाइल भ्यानबाट परीक्षण गर्दा न्यूट्रालाइजर र स्टार्च नपाइएको विभागले जनाएको छ । डेरीलाई कीट नियन्त्रण र सरसफाइमा सुधार गर्न निर्देशन दिइएको छ ।

काभ्रेको बनेपा नगरपालिका–७ स्थित हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टर प्रा.लि. मा सरसफाइको अवस्था सन्तोषजनक र अनुमतिपत्र नवीकरण भएको पाइएको छ । अनुगमनका क्रममा प्रशोधित दूध उत्पादन तथा प्याकेजिङ भइरहेको नपाइएको विभागले जनाएको छ । थप अनुसन्धानका लागि दहीको नमुना संकलन गरिएको छ ।

पनौती नगरपालिका–५ स्थित अनुप डेरी प्रा.लि. मा कीट नियन्त्रणको व्यवस्था सन्तोषजनक नरहेको तथा एसएमपी भण्डारण कक्ष अव्यवस्थित रहेको पाइएको छ । उद्योगको प्रयोगशालामा दूधको फ्याट परीक्षण गर्दा नेपाल सरकारको मापदण्डअनुसार रहेको र मोबाइल भ्यानमा परीक्षण गर्दा न्यूट्रालाइजर र स्टार्च नपाइएको विभागले जनाएको छ । डेरीलाई कीट नियन्त्रण सुधार गर्न र एसएमपी भण्डारण कक्ष व्यवस्थित गर्न निर्देशन दिइएको छ ।

त्यस्तै, पनौती नगरपालिका–३ स्थित दुर्गा दूध डेरी मा प्रयोगशालाको व्यवस्था नभएको र कीट नियन्त्रणको अवस्था सन्तोषजनक नरहेको पाइएको छ। उद्योगमा दूधको फ्याट परीक्षण गर्दा ३.९ प्रतिशत पाइएको तथा मोबाइल भ्यानमा परीक्षण गर्दा न्यूट्रालाइजर र सुगर नपाइएको विभागले जनाएको छ । डेरीलाई प्रयोगशालाको व्यवस्था गर्न, कीट नियन्त्रणमा सुधार गर्न तथा प्रशोधित दूध उत्पादन र बिक्री–वितरणका लागि विभागबाट अनुमति लिन निर्देशन दिइएको छ ।

एआई बाट सृजित प्रतिकात्मक तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ