नागढुङ्गा सुरुङमार्गमा नियम उल्लङ्घन गर्ने एकैदिन १३ जना चालकमाथि ट्राफिक कारबाही

Thankot Times

थानकोट ।

नागढुङ्गा–नौबिसे सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने १३ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय मातहतको ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले बुधबार सुरुङमार्गमा ओभरटेक, तीव्र गति तथा अन्य ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने चालकलाई कारबाही गरेको हो ।

सुरुङमार्गमा ओभरटेक, तीव्र गति तथा अन्य ट्राफिक नियमविपरीत सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्नुका साथै जनधनको क्षति हुन सक्ने र दुर्घटना भए तत्काल उद्धार गर्नसमेत कठिनाइ हुने प्रहरीले जनाएको छ ।

सुरुङमार्ग संवेदनशील मार्ग भएकाले त्यहाँ सवारी चलाउँदा लेन अनुशासन, गति सीमा तथा अन्य ट्राफिक नियमको पूर्ण पालना गर्न प्रहरीले चालकलाई आग्रह गरेको छ ।

प्रहरीले पटक-पटक लेन अनुशासन, तीव्र गति लगायतका ट्राफिक नियम उल्लङ्घन गरेको पाइएमा सम्बन्धित सवारीसाधन र चालकलाई आगामी दिनमा सुरुङमार्ग प्रवेशमा समेत निषेध गरिने चेतावनी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *