नेपाली काँग्रेसको महाधिवेशनः नानु बाँस्तोलाले सह-महामन्त्रीमा उम्मेदवारी दिने
थानकोट ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य नानु बाँस्तोला पार्टीको सह–महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
आजदेखि सुरु हुने कांग्रेसको १५औँ महाधिवेशनमा आफूले सह–महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेको बाँस्तोलाले जानकारी दिइन् ।
काठमाडौं महानगरपालिका– १४, बल्खु कुमारी टोलकी स्थायी बासिन्दा बाँस्तोला विद्यार्थी जीवनदेखि नै राजनीति र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएकी छन् ।
नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य, नेपाल महिला संघको केन्द्रीय सदस्य हुँदै कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यका रूपमा उनले काम गरेकी छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकका रूपमा समेत भूमिका निर्वाह गरेकी बाँस्तोला पाँच वर्षदेखि कांग्रेसको केन्द्रीय सदस्य रहँदै आएकी छन् ।













