२०औँ संस्करणको एशियाली खेलकुद सम्पन्न, चीन पहिलो स्थानमा,नेपाल ३६औँ

Thankot Times

थानकोट ।

जापानको आइची–नागोयामा सम्पन्न २०औँ संस्करणको एशियाली खेलकुदमा चीन ३४१ पदकसहित शीर्ष स्थानमा रहेको छ । प्रतियोगितामा चीनले १६९ स्वर्ण, ८९ रजत र ८३ कांस्य जितेको हो ।

आयोजक जापान पदक तालिकाको दोस्रो स्थानमा छ । जापानले ८३ स्वर्ण, ९५ रजत र ९१ कांस्यसहित २६९ पदक जितेको छ ।

तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले ३९ स्वर्ण, ४३ रजत र ६८ कांस्यसहित १५० पदक जितेको छ ।

चौथो स्थानमा रहेको भारतले २१ स्वर्ण, २७ रजत र ३७ कांस्यसहित ८५ पदक जितेको छ ।

पाँचौँ स्थानमा रहेको उज्वेकिस्तानले २१ स्वर्ण, २५ रजत र २४ कांस्यसहित ७० पदक जितेको छ ।

एशियाली खेलकुदमा नेपालले २ वटा पदक जितेको छ । करातेको कुमितेमा तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले कांस्य पदक जितेका छन् । प्रतियोगितामा नेपालबाट २१ खेलका १३५ जना खेलाडी सहभागी थिए । नेपाली महिला टाेलीले लगातार कांस्य जितेकाे हाे ।

एशियाली खेलकुदमा नेपालले १ स्वर्णसहित कम्तीमा १० वटा पदक जित्ने लक्ष्य राखेको थियो । नेपालले ‘मिसन २०२६’ अभियान सञ्चालन गरे पनि सार्थकता पाउन सकेन ।

यही असोज ३ गतेदेखि शुरू भएकाे एशियाली खेलकुदका सबै खेल आज सकिएकाे हाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ