आज सोमबार दिनभरको माैसम कस्तो रहला ? यस्तो छ विभागको पूर्वानुमान
थानकोट ।
देशका अधिकांश पहाडी भू–भागमा आज सामान्यदेखि आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्यतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भाग तथा देशको तराई क्षेत्रमा भने आंशिक बदली रहने अनुमान छ ।
महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ । ती प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ ।
यस्तै, मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि मध्यमसम्म वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागमा सामान्यतया बदली रहनेछ । कर्णाली प्रदेशको पहाडी भू–भागमा पनि सामान्य बदली रहनेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुन सक्नेछ ।
मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।













