सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल निलम्बित
थानकोट ।
सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन् । गृह मन्त्रालयका प्रवक्ता आनन्दराज काफ्लेका अनुसार, ‘सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरण विपरीतको कार्य गरेको’ आरोपमा उनी निलम्बनमा परेका हुन् ।
काफ्लेले हस्ताक्षर गरेको विज्ञप्तिमा सशस्त्र प्रहरी बल, नेपालबाट कारबाहीका लागि मन्त्रालयमा सिफारिस प्राप्त भएको आधारमा निलम्बन गरिएको भनिएको छ । त्यसअनुसार दाहाललाई निलम्बन गरेर तीन दिनभित्र जाँचबुझ सम्पन्न गरेर मन्त्रालयमा पेस गर्न समिति बनाइएको समेत भनिएको छ ।
मन्त्रालयले दाहालले कस्तो सूचना चुहावट गरेका हुन् भन्ने बताएको छैन । तर, सशस्त्र प्रहरी बलका एक उच्च अधिकृतका अनुसार, उनीमाथि ११ असोजको बिहान अनुमति नलिई पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेटेको आरोप छ ।
जबरालाई सुरक्षा चुनौती भएको भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयले मध्यराति घरबाट प्रहरीकहाँ ल्याएको थियो । त्यसपछि जबराका ‘नातेदार’समेत रहेका दाहाल उनलाई भेट्न प्रहरी कार्यालय पुगेको सशस्त्र प्रहरीका उच्च अधिकृतहरूको दाबी छ ।
एआईजी दाहालको पदावधि थप गर्न भन्दै सशस्त्र प्रहरी बल प्रधान कार्यालयले गत बुधबार मात्र मन्त्रालयमा सिफारिस गरेको थियो । उनी २७ असोजमा चार वर्षे पदावधि पूरा गरेर अवकाशमा जाने तयारीमा थिए । तर, सशस्त्र प्रहरी नियमावली–२०७२ मा सशस्त्र प्रहरी महानिरीक्षकको सिफारिसमा सरकारले एआईजी र डीआईजीको पदावधि चार वर्षपछि एक वर्ष थप गर्न सक्ने व्यवस्था थियो । त्यसअनुसार अधिकांश एआईजी र डीआईजीको एक वर्ष पदावधि थप हुँदै आएको थियो ।
दाहालको पदावधि थप नभएको अवस्थामा उनी अवकाशमा जानेछन् । त्यसपछि रिक्त हुने एक एआईजी पदमा हालका सिनियर डीआईजीहरु प्रतिस्पर्धामा हुनेछन् ।













