आईसीसी क्रिकेट विश्वकप लिग-२: नेपालको जित, क्यानडा २४ रनले पराजित
थानकोट ।
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा क्यानडाविरुद्ध २४ रनको जित दर्ता गरेको छ ।
आइतबार ओमानको अल अमिरेट्स क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमा समेटियो ।
क्यानडाका ओरोन जोनसनले ४४, समित गोहेलले ३५, अखिल कुमारले अविजित ३०, श्रेयस मोभ्वा र कप्तान हम्जा तारिकले २६–२६ तथा हर्ष ठाकरले १५ रन बनाए ।
नेपालका करण केसी, ललितनारायण राजवंशी, नन्दन यादव र कप्तान कप्तान सन्दीप लामिछानेले दुई–दुई विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको हो ।
नेपालका रोहितकुमार पौडेलले सर्वाधिक १०१ रनको योगदान गरे । उनले १२७ बलमा आठ चौका र एक छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितको यो तेस्रो शतक हो ।
यसैगरी, गुल्सनकुमार झाले ४८, बसिर अहमदले ३० र अर्जुन कमालले २३ रन जोडे । रोहितले छैटौँ विकेटका निम्ति गुल्सनसँग ८२ रनको साझेदारी गरे । उनले चौथो विकेटका निम्ति बसिरसँग ७७ रनको साझेदारी गरेका थिए ।
क्यानडाका अखिल कुमारले चार, सुखजिन्दर सिंहले तीन र जाहिद शिरजादले दुई विकेट लिए ।
जितसँगै ३३ खेलमा २६ अंक जोडेको नेपाल छैटौँ स्थानमा उक्लिएको छ । पराजित क्यानडा ३४ खेलबाट २५ अंकका साथ सातौँ स्थानमा झरेको छ ।
अब नेपालले मंगलबार तथा क्यानडाले बिहीबार घरेलु टोली ओमानको सामना गर्नेछन् ।














