बुढानिलकण्ठमा शिक्षिका र प्रअमाथि हातपात गर्ने २ जना पक्राउ

Thankot Times

थानकोट ।

बुढानिलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयको प्रांगणमा शिक्षिकालाई अभद्र व्यवहार तथा प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बिहीबार बिहान करिब १०:३४ बजे विद्यालय परिसरभित्रै सार्वजनिक स्थलमा शिक्षकमाथि हातपात र दुर्व्यवहार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार सुनसरीको वराहक्षेत्र नगरपालिका-७ घर भई हाल कपन बस्ने ३६ वर्षीय निशाल दाहालले विद्यालयमा कार्यरत महिला शिक्षिकालाई लक्षित गरी अश्लील तथा अपशब्द प्रयोग गर्दै गालीगलौज र धाक धम्की दिएका थिए। सोही क्रममा सिन्धुलीको दुधौली नगरपालिका–१ घर भई हाल कपन नै बस्दै आएका ४४ वर्षीय ध्रुव प्रसाद घिमिरेको निर्देशनमा प्रधानाध्यापकमाथि मुक्का तथा लात्ती प्रहार गरी कुटपिट गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न दाहाल र घिमिरे दुवै जनालाई नियन्त्रणमा लिई अभद्र व्यवहार गर्नु नहुने कसुरमा अनुसन्धान अगाडि बढाइएको छ। उनीहरूमाथि थप अनुसन्धान गर्नका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ४ दिनको म्याद थप अनुमति लिइएको प्रहरी वृत्त बौद्धले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *