बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन

Thankot Times

थानकोट ।

ऐतिहासिक व्यक्तित्वद्वय बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन गरिएको छ।

हुलाक सेवा विभागले उनीहरूको सम्मानमा हुलाक टिकट प्रकाशन गर्दै प्रथम दिवसीय टाँचा लगाएको हो।

यस कार्यमा प्रथम दिवसीय टाँचा लगाउने अवसर पाउँदा आफूलाई गर्व र सन्तोषको अनुभूति भएको विक्रम तिमिल्सिनाले बताएका छन्। उनले यस महत्त्वपूर्ण कार्यका लागि हुलाक सेवा विभाग र सम्बन्धित सबैलाई हार्दिक धन्यवाद दिएका छन्।

तिमिल्सिनाले यस कदमलाई नेपालको इतिहासलाई अझ समावेशी दृष्टिले हेर्ने र राष्ट्र निर्माणमा दलित समुदायले पुर्‍याएको योगदानलाई उचित स्थान दिने महत्त्वपूर्ण सन्देशका रूपमा व्याख्या गरेका छन्।

‘राष्ट्रको इतिहास कुनै एक व्यक्ति वा समुदायको योगदानले मात्र बनेको हुँदैन। तर, इतिहास निर्माणमा योगदान दिएका सबैको सम्मान समान रूपमा हुन सकेको छैन,’ उनले भनेका छन्, ‘बिसे नगर्ची र बाङ्गे सार्कीको योगदानलाई राष्ट्रिय पहिचान दिनु यही ऐतिहासिक रिक्तता पूरा गर्ने दिशामा एउटा अर्थपूर्ण कदम हो ।’

इतिहासमा योगदान गर्ने सबैको सम्मान हुनु नै न्यायपूर्ण समाजको मुख्य आधार भएको उनको भनाइ छ। राज्यको यो कदम दुई ऐतिहासिक व्यक्तित्वको सम्मानमा मात्र सीमित नरही समग्र दलित समुदायको आत्मसम्मान, पहिचान र गौरवसँग जोडिएको तिमिल्सिनाले स्पष्ट पारेका छन्।

नेपाल एकीकरणको समयमा गोर्खाका राजा पृथ्वीनारायण शाहलाई आर्थिक र रणनीतिक सल्लाह दिने बिसे नगर्ची र हातहतियार तथा छालाका सामग्री निर्माणमा योगदान गर्ने बाङ्गे सार्कीको भूमिकालाई नेपाली इतिहासमा उच्च महत्त्वका साथ हेर्ने गरिन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *