अब सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता यातायात कार्यालय जानु नपर्ने

Thankot Times

थानकोट ।

नयाँ तथा पुराना सवारी साधन खरिद गर्दा खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने व्यवस्था हटाइएको छ ।

यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गर्दै सवारी दर्ता, नामसारी र बीमासम्बन्धी प्रक्रियालाई सहज बनाएको हो ।

विभागका अनुसार यातायात व्यवस्था विभागले सोमबारको निर्णयअनुसार निर्देशिकामा केही प्रावधान संशोधन गरेको हो । संशोधित व्यवस्थाअनुसार निजी तथा सार्वजनिक सवारी साधनको पहिलो नामसारी गर्दा डिलरले यातायात व्यवस्था कार्यालयमा गरेको जाँचलाई नै मान्यता दिइनेछ । त्यसका लागि पुनः यातायात व्यवस्था कार्यालयमा उपस्थित भएर सवारी साधन जाँच गराउनुपर्ने छैन् ।

त्यस्तै, सवारी साधन खरिदकर्ता स्वयं कार्यालयमा उपस्थित नभए पनि आवश्यक कागजातसहित प्रतिनिधि उपस्थित गराएर दर्ता तथा नामसारी गर्न सकिने व्यवस्था गरिएको छ । सवारी साधन बिक्री गर्ने डिलरले खरिदकर्ताको वारेसनामा, वारेसनामा प्राप्त व्यक्तिको नेपाल सरकारबाट जारी सक्कल परिचयपत्र र खरिदकर्ताको फोटोसहित प्रतिनिधि उपस्थित भएमा दर्ता तथा नामसारीको प्रक्रिया पूरा गर्नुपर्नेछ ।

नयाँ व्यवस्थाअनुसार सवारी साधनको बीमा गर्न वा बीमा नवीकरण गर्नसमेत सवारीधनी यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने छैन ।

विभागले निजी तथा सार्वजनिक सवारी साधनको नामसारी प्रक्रियालाई थप सहज बनाउन सवारी दर्ता प्रणाली (भीआरएस) मा प्राविधिक पहुँचको व्यवस्था गर्ने जनाएको छ । विभागले यससम्बन्धी सूचना जारी गरेपछि सवारी विक्रेता, वितरक वा कम्पनीले भीआरएस प्रणालीसँग आबद्ध हुन आवश्यक पूर्वाधार तयार गरी यातायात व्यवस्था कार्यालयसँग पहुँच माग गर्नुपर्नेछ ।

त्यसपछि यातायात व्यवस्था कार्यालयले एकद्वार पहुँच हुने गरी बायोमेट्रिक विवरण लिन मिल्ने प्रणालीमार्फत सम्बन्धित विक्रेता, वितरक वा कम्पनीलाई प्राविधिक पहुँच उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

यातायात व्यवस्था विभागका निर्देशक मणिराम भुसालले संशोधित व्यवस्थाअनुसार कार्यान्वयन गर्न सम्बन्धित सबैलाई सूचित गरेका छन्।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *