चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु
थानकोट ।
चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु गरिएको छ ।
बर्सातसँगै गत १७ असारदेखि बन्द गरिएको निकुञ्जभित्रको जिप सफारी यही २३ असोजदेखि सुरु गरिएको हो ।
बर्सातले बिग्रिएका निकुञ्जभित्रका सडकहरू मर्मत गरेर जिप सफारी सुरु गरिएको हो ।
वर्षाको समयमा आएको बाढीका कारण बिग्रिएका बाटाहरू मर्मत, ढलेका रूख पन्छाउने, झाडी फाँड्ने लगायतका काम सकिएसँगै जिप सफारी सुरु गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।
यही असोजको दोस्रो साता आएको बाढीले जंगल सफारी गर्ने रुट भत्काएका कारण जंगल सफारी खुला गर्न समय लागेको उनले बताए ।
निकुञ्जभित्र जिप सफारी बन्द भए पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनमा भने जिप तथा हात्ती सफारी सबै समयमा यथावत् अवस्थामा हुने गर्दछ ।
निकुञ्जमा सौराहा क्षेत्रबाट ३२ वटा, कसराबाट २२ वटा, यस्तै मेघौलीबाट ११ वटा, अमलटारीबाट आठवटा र माडीबाट एउटा जिप निकुञ्जभित्र चल्ने गर्दछन् ।
ती जिपमा चढेर पर्यटकले निकुञ्ज घुम्ने गर्दछन् । यहाँ मुख्य रूपमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघलगायत वन्यजन्तु हेर्न पर्यटक आउने गर्दछन् ।














