पदार्थ, मिति र मूल्य खुलाउन मिठाई पसललाई विभागको निर्देशन
थानकोट ।
मिठाई उत्पादन तथा बिक्रीवितरण गर्ने व्यवसायीले मिठाईमा प्रयोग भएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको प्रकार, उपभोग गर्न सकिने मिति र मूल्य अनिवार्य रूपमा खुलाउनुपर्ने भएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शुक्रबार सूचना जारी गर्दै मिठाईको विवरण उपभोक्ताले स्पष्ट देख्ने गरी सोकेस वा काउन्टरमा राख्न निर्देशन दिएको हो ।
विभागका अनुसार मिठाईमा प्रयोग गरिएको मुख्य कच्चा पदार्थको मिश्रण, तेल वा घिउको प्रकार, मिठाई उपभोग गर्न सकिने अन्तिम मिति र प्रतिकिलो मूल्य स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ ।
यो व्यवस्था होटल, मिठाई पसल तथा मिठाई भण्डारलगायत मिठाई बिक्रीवितरण गर्ने सबै व्यवसायीका लागि लागू हुनेछ ।
निर्देशन पालना नगर्ने व्यवसायीलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही गरिने विभागले जनाएको छ ।
साथै, विभाग वा मातहतका कार्यालयबाट खाद्य स्वच्छताका आधारमा स्तरीकरण गराई ‘खाद्य स्वच्छता लोगो’ लिएर व्यवसाय सञ्चालन गर्न पनि विभागले आग्रह गरेको छ ।














