बिहानै दुर्घटनाको खबर, सुनकोशी नदीमा जीप खस्दा तीन जनाको मृत्यु, उद्धार कार्य जारी
थानकोट ।
सुनकोसी नदीमा जीप खस्दा तीनजनाको मृत्यु भएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट जीप करिब २०० मिटर तल सुनकोसी नदीमा खसेको प्रहरीले जनाएको छ ।
जीप खस्दा तीन महिलाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा चालकसहित चारजना घाइते भएका छन् भने तीनजना बेपत्ता रहेका छन् ।
आइतबार बिहान करिब २:३० बजे काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको यात्रुवाहक जीप सडकबाट करिब २०० मिटर तल सुनकोसी नदीमा खसेर दुर्घटना भएको हो ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी रत्नावती र प्रहरी चौकी खाङसाङबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
घटनास्थलमा तीन महिलाको शव फेला परेको थियो । दुर्घटनामा घाइते भएका चालकसहित चारजनालाई उद्धार गरी उपचारका लागि उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर प्रा.लि.मा पठाइएको थियो । त्यहाँ प्राथमिक उपचारपछि सिन्धुली जिल्ला अस्पताल पठाइएको छ ।














