नेपाली कांग्रेसको प्रदेश र जिल्ला अधिवेशन मङ्सिरमा
थानकोट ।
नेपाली कांग्रेसका जिल्ला र प्रदेश अधिवेशन मङ्सिरमा हुने भएको छ ।
नवनिर्वाचित महामन्त्री उदयशमशेर राणाले गर्न बाँकी जिल्ला र प्रदेश अधिवेशन मंसिर मसान्तसम्म गरिसक्ने तर, मिति केन्द्रीय कार्यसमितिको बैठकबाट टुङ्गो लगाउने जानकारी दिए ।
बाँकी रहेका जिल्ला र प्रदेश अधिवेशन मङ्सिरमा गरिसक्छौँ । मिति भने टुङ्गो लागेको छैन,’ महामन्त्री राणाले रातोपाटीसँग भने,’ भोलि (बिहीबार) नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथ छ । शपथपछि केन्द्रीय कार्यसमितिको बैठक बसेर मिति तय गछौँ । त्यो छठ पछि लगत्तै पनि हुन सक्छ । मङ्सिरको अन्तिममा पनि हुन सक्छ । केन्द्रीय समितिको बैठकबाट निर्णय हुन्छ ।’
गत असोज १८ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गरेको कांग्रेसले त्यो बेला जिल्ला र प्रदेश अधिवेशन बाँकी राखेर मातहतका अरू अधिवेशन मात्रै गरेको थियो । वडा, पालिका, प्रदेश सभा क्षेत्र र प्रतिनिधि सभा क्षेत्रको अधिवेशन गरेर सिधै केन्द्रीय महाधिवेशन गरिएको थियो ।














