प्रमुख अतिथिको विषयमा कुरा नमिलेपछि काँग्रेस काठमाडाैं क्षेत्र नं. १० प्रदेश ख मा विवाद !
थानकोट ।
नयाँ नेतृत्व चयन भएको २९औं दिनमै नेपाली काँग्रेस काठमाडाैं क्षेत्र नं. १० प्रदेश ख मा पदाधिकारीहरू बीचमै मनमुटावको स्थिति सृजना भएको छ ।
‘अर्नव’ चक्रवातको अवशिष्ट प्रभावका कारण चिसिएको चन्द्रागिरि नगरको माैसम शुक्रबार दिउँसो नेपाली काँग्रेस काठमाडाैं क्षेत्र नं. १० प्रदेश ख सचिव श्याम मानन्धरले सामाजिक सञ्जालमा साझा गरेको विषयवस्तुका कारण गर्माएको छ ।
भोलि शनिबार नेपाली काँग्रेस काठमाडाैं क्षेत्र नं. १० प्रदेश ख को आयोजनामा हुने चियापान, शुभकामना आदान-प्रदान, बधाई तथा प्रमाणपत्र वितरण कार्यक्रमका विषयमा सचिव श्याम मानन्धरले फरक मत राख्दै कार्यक्रममा सहभागी नहुने आशयको सामाग्री फेसबुकमा साझा गरेपछि काँग्रेस वृत्तमा यो विषयले कार्तिके झरीको चिसो बिर्साउने गरी चर्चा पाएको हो । थानकोट टाइम्ससँग कुरा गर्दै मानन्धरले भने- प्रमुख अतिथि लगायतका विषयमा सभापतिज्यूको प्रस्तावमाथि मेरो फरक मत रह्यो, म कन्भेन्स हुन सकिन्ँ, त्यसैले मैले कार्यक्रममा सहभागी नहुने धारणा सार्वजनिक गरेको हुँ । लोकतान्त्रिक पार्टीमा एकल निर्णय स्वीकार्न सकिँदैन्, मैले कार्यक्रम बहिष्कार गरेँ- मानन्धरले भने ।
यस विषयमा थानकोट टाइम्सले नेपाली काँग्रेस काठमाडाैं क्षेत्र नं. १० प्रदेश ख का सभापति राजेन्द्र विक्रम बानियाँसँग प्रश्न गर्दा सभापति बानियाँले कार्यक्रममा नरोकिने बताए । उनले भने- नवनिर्वाचित कार्यसमितिका सदस्यहरूलाई प्रमाणपत्र वितरणको कार्यक्रम हो, यसमा विशेष गरि निर्वाचित सदस्यहरूको उपस्थितिलाई प्रधान विषय बनाइएको छ, प्रदेश ख का प्रतिनिधिहरूलाई निमन्त्रणा गरिसकिएको छ । सचिवज्यूले उठान गर्नुभएको विषयलाई अतिरञ्जित गरिएको छ- बानियाँले भने ।
गत असोज १४ गते सम्पन्न नेपाली काँग्रेस काठमाडाैं जिल्ला क्ष्रेत्र नं. १० प्रदेश ख अधिवेशनबाट राजेन्द्रविक्रम बानियाँको नेतृत्वमा कार्यसमिति चयन भएको हो ।











