सल्यानमा जीप दुर्घटना: तीनजनाको मृत्यु, सात घाइते
थानकोट ।
सल्यानमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । प्रहरीका अनुसार सल्यानको सिद्ध कुमाख गाउँपालिका–२, रातामाटेस्थित भित्री कच्ची सडकखण्डमा उक्त दुर्घटना भएको हो ।
शुक्रबार साँझ करिब ६:३५ बजे श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु.१ ज २३६८ नम्बरको जीप सडकबाट करिब १५० मिटर तल खोलामा खसेर दुर्घटना भएको प्रहरीले जानकरी दिएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा घाइते भएका १० जनालाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएकोमा तीनजनाको उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा सल्यानको सिद्ध कुमाख गाउँपालिका-२ की ४२ वर्षीया कृष्णी बस्नेत, ४५ वर्षीया सीता विक र ४३ वर्षीय साउने रोका रहेका छन् ।
यस्तै, घाइते हुनेमा सिद्ध कुमाख गाउँपालिका–२ का देवबहादुर विक, सुशीला चलाउने, राधिका चलाउने र दीपक रोका रहेका छन् । त्यस्तै, सोही गाउँपालिका–३ का कमल बुढाथोकी र ७ वर्षीया बिमला बुढाथोकी भन्ने रुपा बुढाथोकी सोही गाउँपालिका २ का १० वर्षीय युवराज परियार छन् ।
घाइतेहरूमध्ये केहीलाई थप उपचारका लागि दाङ र नेपालगन्ज रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । जीप चालक सिद्ध कुमाख गाउँपालिका-२ का ३८ वर्षीय तिलक चलाउनेलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सल्यान पठाइएको प्रहरीले जानकारी दिएको छ ।











