स्वास्थ्य सेवा सूचकमा चन्द्रागिरि नगर काठमाडाैं जिल्लामै पहिलो

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाको स्वास्थ्य शाखाबाट गत आर्थिक वर्ष (२०८२/८३) मा सम्पादन भएको कार्यमा काठमाडाैं जिल्लाभित्र उत्कृष्ठ भएको मूल्यांकन भएको छ ।
काठमाडौं जिल्लाका ११ स्थानीय तहमध्ये चन्द्रागिरि नगरपालिका स्वास्थ्य सेवाका विभिन्न सूचकहरूको मूल्याङ्कनमा प्रथम स्थान हासिल गर्न सफल भएको हो ।
बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय तथा जनस्वास्थ्य कार्यालय काठमाडौंले आर्थिक वर्ष २०८२/०८३ को जिल्लास्तरीय वार्षिक समीक्षा गरेको थियो ।

उक्त समीक्षामा निर्धारित स्वास्थ्य सेवासम्बन्धी विभिन्न सूचकहरूको आधारमा मूल्याङ्कन गर्दा चन्द्रागिरि नगरपालिका काठमाडौं जिल्लाकै पहिलो स्थानीय तह बन्न सफल भएको हो ।

जनस्वास्थ्य कार्यालय काठमाडौको आयोजनामा काठमाडौ जिल्ला अन्तर्गतका स्थानीय तहहरुको आर्थिक बर्ष २०८२/८३ मा सम्पादित स्वास्थ्य कार्यक्रम तथा स्वास्थ्य क्षेत्रको समग्र मुल्यांकन गर्दा चन्द्रागिरि नगरपालिका ले ७५ प्रतिशत अंक प्राप्त गर्दै प्रथम भएको हो ।

नगरपालिकाले स्वास्थ्य सेवा प्रवाह, स्वास्थ्य कार्यक्रमको कार्यान्वयन तथा विभिन्न स्वास्थ्य सूचकमा गरेको कार्यसम्पादनको मूल्याङ्कन स्वरूप यो उपलब्धि प्राप्त गरेको जनाइएको छ ।
प्रथम स्थान हासिल गरेसँगै जनस्वास्थ्य कार्यालय काठमाडौंले चन्द्रागिरि नगरपालिकालाई बधाई दिँदै आगामी दिनमा समेत स्वास्थ्य क्षेत्रमा सञ्चालन भइरहेका कार्यक्रम र गतिविधिलाई थप निरन्तरता दिन अपेक्षा गरेको छ ।
यसैबीच नगरप्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगरपालिकाबाट सञ्चालन भएका स्वास्थ्य कार्यक्रम तथा स्वास्थ्य क्षेत्रको समग्र कार्य सम्पादन मूल्याङ्कनमा उत्कृष्ट भइ काठमाडौं जिल्लाका सबै स्थानीय तहहरुमध्ये ७५ प्रतिशत अंक प्राप्त गरि यस नगरपालिकाले प्रथम स्थान हांसिल गर्न सफल भएको हुँदा यस कार्यमा साथ र सहयोग पुर्याउने सबैमा धन्यवाद दिएका छन् । सामाजिक सञ्जालमा फेसबुकमा शुक्रबार साँझ एक पोष्ट साझा गर्दै धन्यवाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *