पानीको सतह जोखिमको संकेततर्फ उन्मुख भएपछि कुलेखानीमा बजाइयो चेतावनी साइरन (भिडियो)
थानकोट ।
मकवानपुरको इन्द्रसरोवरस्थित कुलेखानी जलाशयमा पानीको सतह जोखिमको संकेततर्फ उन्मुख भएपछि पहिलो चरणको चेतावनी साइरन बजाइएको छ ।
शनिबार (कात्तिक १४) साँझ जलाशयमा पानीको सतह १,५२८.५० मिटर पुगेपछि साइरन बजाइएको हो ।
अविरल वर्षासँगै जलाधार क्षेत्रमा पानीको बहाव बढ्दा जलाशयको सतह समेत उकासिएको नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जनाएको छ ।
वर्षा जारी रहेर जलाशयको पानी व्यवस्थापन गर्न बाँधका ढोका खोली पानी निकास गर्नुपर्ने अवस्था आएमा थप सतर्कताका निम्ति दोस्रो चरणको साइरन बजाइने केन्द्रले जनाएको छ ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै बाँधको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई खोला तथा नदी किनारबाट टाढै रहन र सुरक्षित एवं अग्लो स्थानमा जान आग्रह गरिएको छ । देउराली–सिस्नेरी सडकखण्डमा यात्रा गर्दा सुरक्षा निकायसँग समन्वय गरेर मात्र आवतजावत गर्न अनुरोध गरिएको छ ।
थप वर्षा भए जलाशयको पानीको निकास गर्नुपर्ने हुन सक्ने भएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सम्भावित जोखिमप्रति सचेत रहन केन्द्रले आग्रह गरेको छ ।











