ध्वनि प्रदूषण नियन्त्रण गर्न प्रहरी सक्रिय, ठूलो आवाज निकाल्ने ५६ मोटरसाइकल र स्कुटर नियन्त्रणमा
थानकोट ।
चाडपर्वका बेला ध्वनि प्रदूषण नियन्त्रण तथा सर्वसाधारणको आवागमन सुरक्षित र सहज बनाउन जिल्ला प्रहरी परिसर काठमाडौँले स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ५६ वटा दुईपाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहतका प्रहरी वृत्त र प्रभागबाट खटिएका टोलीले राजधानीका विभिन्न स्थानमा सञ्चालन गरेको चेकजाँच तथा निगरानीका क्रममा ती सवारीसाधन नियन्त्रणमा लिएका हुन्।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनमध्ये ५२ वटा मोटरसाइकल र चारवटा स्कुटर रहेका छन्। ती सवारीसाधनको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने बनाइएको पाइएको प्रहरीले जनाएको छ।
चाडपर्वको समयमा सर्वसाधारण नागरिकलाई सुरक्षित, शान्त तथा भयमुक्त वातावरणमा आवागमन गर्ने व्यवस्था मिलाउने उद्देश्यले विशेष निगरानी र चेकजाँच गरिएको प्रहरीको भनाइ छ।
विशेष गरी सवारीसाधनको स्वरूप परिवर्तन गरेर अस्वाभाविक रूपमा ठूलो आवाज निकाल्दा सर्वसाधारणलाई असुविधा हुने र सार्वजनिक शान्तिमा असर पुग्न सक्ने भएकाले यस्ता गतिविधि नियन्त्रणमा ध्यान दिइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँले नियन्त्रणमा लिइएका सवारीसाधनमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।
परिसरका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाद्वारा जारी प्रेस विज्ञप्तिमा स्वरूप परिवर्तन गरिएका सवारीसाधन नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको उल्लेख छ।











