आज मधेश र कोशी प्रदेशमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

Thankot Times

थानकोट ।

मधेश प्रदेश र कोशी प्रदेशका विभिन्न स्थानमा आज मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो मधेश प्रदेश, कोशी प्रदेश तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ ।

देशका बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । दिउँसो कोशी प्रदेशको तराई भूभागका साथै मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

महाशाखाका अनुसार राति देशका हिमाली क्षेत्र, कोशी प्रदेशको तराई भू–भाग र मधेश प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *