ज्ञानेन्द्र शाहीले राप्रपाको अध्यक्ष पदमा उम्मेदवारी दिने

Thankot Times

थानकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्षका लागि उम्मेदवारी दिने भएका छन् ।

राप्रपाको संसदीय दलका नेता एवं कार्यसम्पादन समिति सदस्य रहेका शाहीले अध्यक्षमा उम्मेदवारी दिने जानकारी गराएका छन् ।

राप्रपाको आठौं महाधिवेशनमा मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुँदैछ ।

आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने शाहीले बताए । ‘अध्यक्ष पदमा उठ्ने हो । १/२ दिनमा अध्यक्षमा उठ्ने औपचारिक घोषणा गर्नेछु,’ उनले भने ।

राप्रपाको विद्यमान विधानको व्यवस्था अनुसार केन्द्रीय अध्यक्षको उम्मेदवार हुन एक कार्यकाल अनिवार्य पदाधिकारी हुनुपर्दछ । अध्यक्षको उम्मेदवार हुन पाउने उक्त प्रावधानमा भनिएको छ, ‘केन्द्रीय अध्यक्षमा उम्मेदवार हुन केन्द्रीय पदाधिकारी भई कम्तीमा एक कार्यकाल काम गरेको हुनुपर्दछ ।’

अध्यक्ष, उपाध्यक्ष, महामन्त्री, कोषाध्यक्ष, प्रवक्ता, सहमहामन्त्री, सहायक महामन्त्री लगायत राप्रपामा पदाधिकारी हुन्छन् । शाही हाल प्रवक्ता पदमा छन् ।

दोस्रोपटक अध्यक्ष हुने इच्छा राजेन्द्र लिङ्देनले देखाएका छन् । यद्यपि, उनले औपचारिक रुपमा अध्यक्षमा उठ्ने बारे सार्वजनिक जानकारी गराएका छैनन् ।

वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे अध्यक्षका अर्का आकांक्षी हुन् ।

पूर्व अध्यक्षद्वय कमल थापा र डा.प्रकाशचन्द्र लोहनीको समर्थनमा उनी अध्यक्षको आकांक्षी बनेका हुन् ।

थापा, लोहनी र पाण्डेले आसन्न महाधिवेशनलाई लिएर जिल्ला भ्रमण सुरु गरिसकेका छन् । सोमबार पोखरामा भएको कार्यक्रममा शाही पनि सहभागी थिए । गत निर्वाचनमा प्रत्यक्षतर्फ जित्ने शाही राप्रपाका एक्ला उम्मेदवार हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *