आज सोमबार कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना
थानकोट ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आज दिउँसो आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी प्रदेशको हिमाली तथा पहाडी भू–भाग र बागमती तथा गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ ।
त्यस्तै, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । अन्य भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
रातिको समयमा तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।
यसैगरी, कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।










