चन्द्रागिरि च्याम्पियनसिप टी-१० क्रिकेट प्रतियोगिता सुरु, च्याम्पियनको पोल्टामा ७० हजार नगद
थानकोट ।
चन्द्रागिरि क्रिकेट एसोसिएसन नेपालको आयोजनामा आज बिहीबारदेखि चन्द्रागिरि क्रिकेट च्याम्पियनसिप टी-१० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
स्थानीय स्तरमा क्रिकेट खेलको विकास, प्रतिभावान खेलाडीको पहिचान तथा उत्पादन, युवा खेलाडीलाई खेलकुदप्रति आकर्षित गर्ने र चन्द्रागिरि क्षेत्रलाई क्रिकेटको सम्भावनायुक्त केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
मंसिर १५ गतेसम्म जारी रहने प्रतियोगिताको सबै खेल चन्द्रागिरि नगरपालिका–६, गोलछापस्थित मदन भण्डारी खेल मैदानमा सञ्चालन हुनेछ।
८ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले ७० हजार रुपैयाँ, उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा कुल ८ टोलीको सहभागिता रहनेछ। सहभागी टोलीलाई दुईवटा समूह (पुल) मा विभाजन गरिनेछ, जसमा प्रत्येक पुलमा ४/४ टोली रहनेछन्।
प्रतियोगिता ड्युस बल प्रयोग गरी टी-१० (१० ओभरको खेल) ढाँचामा सञ्चालन गरिनेछ।
चन्द्रागिरि नगरपालिका लगायत विभिन्न संघसंस्था तथा व्यक्तिहरूको सहयोगमा प्रतियोगिता आयोजना गरिएको चन्द्रागिरि क्रिकेट एसोसिएसन नेपालले जनाएको छ ।










