चन्द्रागिरिका घनश्याम गिरीसहित दुई कार्यकाल पूरा गरेका ५३ नगरप्रमुख फेरि उम्मेदवार बन्न नपाउने
थानकोट ।
आगामी २०८४ सालमा हुने स्थानीय तह निर्वाचनमा देशभरका ५३ जना नगरप्रमुखले पुनः सोही पदमा उम्मेदवारी दिन नपाउने भएका छन्।
२०७४ र २०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा दुईपटक निर्वाचित भएका उनीहरू संविधानको दुई कार्यकालसम्बन्धी व्यवस्थाका कारण आगामी निर्वाचनमा नगरप्रमुख पदको प्रतिस्पर्धाबाट बाहिरिने भएका हुन्।
नेपालको संविधानले गाउँपालिका अध्यक्ष र नगरपालिका प्रमुखको पदमा दुई कार्यकाल निर्वाचित भइसकेको व्यक्तिलाई पुनः उम्मेदवार बन्न रोक लगाएको छ। संविधानको धारा २१६ को उपधारा (७) मा ‘प्रमुखको पदमा दुई कार्यकाल निर्वाचित भएको व्यक्ति नगरपालिकाको निर्वाचनमा उम्मेदवार हुन पाउने छैन’ भन्ने व्यवस्था छ। त्यसैगरी, गाउँपालिकाका अध्यक्षका हकमा धारा २१५ को उपधारा (७) मा पनि दुई कार्यकाल निर्वाचित भएको व्यक्ति गाउँपालिकाको निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको छ।
संघीयताका जानकार अधिवक्ता रमेश काफ्लेका अनुसार संविधानले दुई कार्यकाल लगातार पूरा गरेको हुनुपर्ने सर्त राखेको छैन। बीचमा एक कार्यकाल विश्राम लिएर पुनः निर्वाचित भएको अवस्थामा पनि दुई कार्यकालको सीमा पूरा भएको मानिने उनको भनाइ छ।
‘संविधानले दुई कार्यकाल लगातार पूरा गरेको हुनुपर्ने भनेको छैन। बीचमा एक कार्यकाल विश्राम लिएर पुनः निर्वाचित भएको अवस्थामा पनि दुई कार्यकालको सीमा पूरा भएको मानिन्छ,’ अधिवक्ता काफ्लेले भने।
स्थानीय तहमा अहिलेसम्म २०७४ र २०७९ सालमा गरी दुईपटक मात्रै निर्वाचन भएकाले दुवै निर्वाचनमा नगरप्रमुखमा निर्वाचित भएका व्यक्तिहरू अहिले यो व्यवस्थाको दायरामा परेका हुन्। यसले आगामी निर्वाचनमा उनीहरूलाई पुनः सोही पदमा प्रतिस्पर्धा गर्न कानुनी अवरोध सिर्जना गर्ने देखिन्छ।
प्रदेशगत विवरणअनुसार सबैभन्दा धेरै मधेश प्रदेशका १५ जना नगरप्रमुखले आगामी निर्वाचनमा सोही पदमा उम्मेदवारी दिन पाउने छैनन्। बागमती प्रदेशका १२, कोशी प्रदेशका १०, लुम्बिनी प्रदेशका ६, गण्डकी प्रदेशका ५, सुदूरपश्चिम प्रदेशका ३ र कर्णाली प्रदेशका २ जना नगरप्रमुखले दुई कार्यकाल पूरा गरेका छन्।
मधेश प्रदेशमा सप्तरीको बोदेबरसाइन, सिरहाको मिर्चैया र सुखीपुर, धनुषाको विदेह र धनुषाधाम, महोत्तरीको भंगाहा, मटिहानी र लोहारपट्टी, सर्लाहीको गोडैटा र बागमती, रौतहटका गुजरा, गढीमाई, परोह र मौलापुर तथा बाराको महागढीमाई नगरपालिकाका प्रमुख दुई कार्यकाल निर्वाचित भएका छन्।
बागमती प्रदेशमा धादिङका धुनीबेंसी र नीलकण्ठ, काठमाडौंका चन्द्रागिरि, टोखा र दक्षिणकाली, भक्तपुरका भक्तपुर र सूर्यविनायक, ललितपुर महानगरपालिका र गोदावरी तथा काभ्रेपलाञ्चोकका धुलिखेल, पाँचखाल र मण्डनदेउपुर नगरपालिकाका प्रमुख दुई कार्यकाल निर्वाचित भएका छन्।
कोशी प्रदेशमा इलामको देउमाई, झापाको कनकाई, संखुवासभाको पाँचखपन, तेह्रथुमका म्याङलुङ र लालीगुराँस, भोजपुर र धनकुटा नगरपालिका, मोरङको रंगेली, सुनसरीको दुहबी तथा सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख आगामी निर्वाचनमा सोही पदमा प्रतिस्पर्धा गर्न पाउने छैनन्।
लुम्बिनी प्रदेशमा पाल्पाको रामपुर, कपिलवस्तुका कृष्णनगर, बुद्धभूमि र महाराजगञ्ज, दाङको घोराही तथा बर्दियाको गुलरिया नगरपालिकाका प्रमुखले दुई कार्यकाल पूरा गरेका छन्।
गण्डकी प्रदेशमा लमजुङका बेँसीसहर र मध्यनेपाल, तनहुँको व्यास, बागलुङ नगरपालिका तथा पर्वतको कुश्मा नगरपालिकाका प्रमुख दुई कार्यकाल निर्वाचित भएका छन्। यस सूचीमा बेँसीसहरका गुमानसिंह गुरूङ अर्याल, मध्यनेपालका रमेशकुमार पाण्डे, व्यासका बैकुण्ठनाथ न्यौपाने, बागलुङका भरत शर्मा गैरे र कुश्माका रामचन्द्र जोशी छन्।
सुदूरपश्चिम प्रदेशमा अछामका मंगलसेन र साँफेबगर तथा कञ्चनपुरको बेलौरी नगरपालिकाका प्रमुख दुई कार्यकाल निर्वाचित भएका छन्। त्यस्तै, कर्णाली प्रदेशमा जाजरकोटको भेरी र सुर्खेतको गुर्भाकोट नगरपालिकाका प्रमुख पनि आगामी निर्वाचनमा सोही पदमा उम्मेदवार बन्न नपाउने सूचीमा छन्।










