पिएनजी विरूद्ध नेपालको शानदार जित, करण केसीले लिए ५ विकेट

Thankot Times

थानकोट ।

नेपाल, पपुवा न्युगिनी (पिएनजी) र मलेसियाबीचको टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आफ्नो तेश्रो खेलमा नेपालले पिएनजीलाई ३७ रनले स्तब्ध बनाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको पिएनजीले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २०३ रन जोड्यो। जवाफमा पपुवा न्युगिनी (पिएनजी)  १६६ रनमा समेटियो ।

पपुवा न्युगिनी विरूद्ध जित निकाल्न नेपालका करण केसी ह्याट्रिक सहित एक्लैले ५  विकेट लिए ।

यसअघि नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। उनले १८ ओभरको सुरुवाती तीन बलमा लगातार छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए। दीपेन्द्रको यो चौथो टी-२० अर्धशतक हो। दीपेन्द्रले ३३ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ६६ रन जोडे।

यस्तै डेब्यू खेलाडी आदिल अन्सारीले आक्रामक ब्याटिङ गरे। उनले ११ बलमा ३१ रन जोडे। उनले १ चौका र ३ छक्का प्रहार गरे।

नेपालका ओपनरद्वय कुशल भुर्तेल १७ रन र आसिफ शेख ३८ रन जोडे। कुशलले २० बलमा २ चौका हिर्काए। आसिफले २९ बल खेलेर ४ चौका र १ छक्का हिर्काए।

रोहित पौडेल ४१ रन जोडेर आउट भए। उनले २३ बलमा ४ चौका र ३ छक्का हिर्काए।

बलिङमा पिएनजीका कुबाआ मोरिआले ३ विकेट  लिए। उनले सबै विकेट अन्तिम ओभरमा हात पारेका थिए। उनले अन्सारीलाई ३१ रनमा एलबिडब्लूको धरापमा पार्दा करण केसी र दिलीप  नाथलाई शून्यमा आउट गरे।

यसअघि नेपालले लगातार दुई खेलमा जित हात पारेको थियो। आजको खेलमा जित हात पारेसँगै नेपाल फाइनलमा पुगेको।

प्रतियोगितामा नेपालले आफ्नो चौथो खेल शनिबार मलेसियासँग खेल्नेछ। प्रतियोगिताको फाइनल सोमबार हुनेछ।

करण केसीको कीर्तिमान

करण केसी टी२० अन्तर्राष्ट्रियमा ह्याट्रिक विकेट लिने पहिलो नेपाली बलर बनेका छन् । त्रिकोणात्मक टी२० श्रृंखला अन्तर्गत बिहीबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा करण केसीले ह्याट्रिक सहित ५ विकेट लिए ।

करणको ५ विकेट लिएपछि नेपालले पपुवा न्यू गिनी (पीएनजी) लाई २ बल अगावै १६६ रनमा अलआउट गर्दै ३७ रनको जित हात पारेको छ । नेपाल लगातार तीन खेल जित्दै फाइनल समेत पुगेको छ ।

करणले अन्तिम ओभरको दोस्रो, तेस्रो र चौथो बलमा लगातार विकेट लिए । टी२० अन्तर्राष्ट्रियमा कुनै पनि नेपाली बलरले लिएको यो पहिलो ह्याट्रिक हो ।

त्यसअघि करणले खेलको पहिलो ओभरमा लेगा सिएकाको विकेट लिँदै टी२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका थिए । त्यस्तै उनले तेस्रो ओभरमा पीएनजीका कप्तान असद भालाई आउट गरेका थिए ।

अन्तिम ओभरमा करणले ह्याट्रिक विकेट लिए । उनले उक्त ओभरको दोस्रो २ रन बनाएका चाड सपरलाई रोहित पौडेलबाट क्याचआउट गराए । यस्तै तेस्रो बलमा सिमोन अटाईलाई बोल्ड गरे । चौथो बलमा नोसाइन पोकनालाई दीपेन्द्रबाट क्याचआउट गराए ।

टी२० अन्तर्राष्ट्रियमा नेपाली बलरले एकै खेलमा ५ विकेट लिएको यो पहिलो अवसर हो । यसअघि करणको उत्कृष्ट प्रदर्शन सन् २०१९ मा नेदरल्याण्ड्स विरुद्ध ३.३ ओभरमा १७ रन खर्चेर ४ विकेट लिएका थिए थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *