नेपाल प्रिमियर लिग क्रिकेट- २०२६: काठमाडौं गोर्खाज शीर्षस्थानमा उक्लियो
थानकोट ।
काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा चौथो जित निकालेको छ ।
काठमाडौंले सोमबार भएकाे खेलमा चितवन राइनोजलाई १० रनले पराजित गरेकाे हाे ।
याे जितसँगै काठमाडाैं ५ खेलबाट ८ अंकसहित तालिकाकाे शीर्ष स्थानमा उक्लिएकाे छ । चितवनको भने ५ खेलमा यो दोस्रो हार हो र ५ अंकसहित चौथो स्थानमा छ ।
जितका लागि काठमाडौं गोर्खाजले दिएकाे १८१ रनको लक्ष्य पछ्याएकाे चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन मात्र बनाउन सक्याे ।
चितवनका लागि रवि बोपाराले अर्धशतक प्रहार गरे पनि जितका लागि पर्याप्त भएन । रविले ३५ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ५५ रन बनाए ।
यस्तै, डान मोस्लीले २९, ओपनर किमल मिसराले २८, अर्जुन साउदले २३ रन बनाउँदा कुशल मल्ल १३ रनमा आउट भए । विवेककुमार यादव ४ रनमा रनआउट भए ।
बलिङमा काठमाडाैंका सहान अराचिगेले २ विकेट लिए । यस्तै, जहानदाद खान, कप्तान करण केसी, सन्तोष यादव र गणेश गौतमले समान १-१ विकेट हात पारे ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङमा आएको काठमाडौंले रशिद खानको अर्धशतकमा २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनाएको थियाे ।
सुरुआत भने राम्रो गर्न सकेन । ओपनर डेबिड वार्नर र साहिल पटेललाई चार ओभरभित्रै १३ रनमा गुमाएको काठमाडौंलाई रशिदले सम्हाले । वार्नरले ६ बलमा १ रन बनाए । साहिल १२ बलमा ८ रन बनाएर रिजन ढकालको बलमा आउट भए ।
त्यसपछि रशिदले आक्रामक ब्याटिङ गर्दै टोलीलाई बलियो योगफलतर्फ अघि बढाए । उनले ३० बलमा २ चौका र ४ छक्कासहित ५२ रन बनाए ।
विलियम बोसिस्टोले २२ बलमा १ छक्कासहित २७ रन बनाए । सहन अराचिगेले २० बलमा ३ चौका र २ छक्कासहित ३३ रन जोडे । कप्तान करण केसीले २० रन बनाए ।
चितवनका लागि रिजन ढकालले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा १४ रनमात्र खर्चिए । कप्तान सिकन्दर राजा र कमलसिंह ऐरीले २–२ विकेट लिए ।











