एशियन फुटसलमा नेपालको खराब प्रदर्शन, तीन खेलमा २४ गोल खायो

Thankot Times

थानकोट, चैत्र २९ ।

एएफसी फुटसल एसियन कप छनोट प्रतियोगितामा नेपालले खराब प्रदर्शन गरेको छ। किर्गिस्तानमा भएको समूह ‘बी’को छनोटमा लगातार दुई खेलमा पराजित भएपछि बाहिरिएको नेपालले मंगलबार आफ्नो तेस्रो खेल खेलेको थियो। तेस्रो खेलमा पनि नेपालको प्रदर्शनमा सुधार आउन सकेन। मंगलबार नेपाललाई अफगानिस्तानले ८-१ गोलको फराकिलो अन्तरले पराजित गर्‍यो।

पहिलो हाफमा दुई गोल खाएको नेपालमाथि दोस्रो हाफमा अफगानिस्तान हाबी देखिएको थियो। नेपालका लागि खेलको अन्त्यतिर सुमित श्रेष्ठले गोल गरेका थिए।

यसअघि नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५-१ गोलले पराजित भएको थियो। सोमबार भएको दोस्रो खेलमा नेपालले झनै खराब प्रदर्शन गर्दा ताजकिस्तानलाई ११-१ ले नतिजा सुम्पिएको थियो।

समग्रमा नेपालले तीन खेलमा २४ गोल खायो भने तीन गोल गर्न सक्यो।

कुवेतमा आगामी सेप्टेम्बर अन्तिम सातादेखि हुने एसियन कप फुटसल प्रतियोगिताका लागि छनोट भएको हो। विभिन्न समूहबाट छनोट पार गरेका र आयोजक गरी प्रतियोगितामा १६ टिमले प्रतिस्पर्धा गर्नेछन्।

कुवेत आयोजकको हैसियतमा छनोट भइसकेको छ। समूहका शीर्ष टिम स्वत: छनोट हुनेछन् भने दोस्रो हुने टिमले प्लेअफ खेल्न पाउनेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *