कात्तिक २ र ३ गते मुलुकभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
थानकोट ।
सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने तयारी गरेको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले आगामी कात्तिक २ गते बुधबार र ३ गते बिहीबार भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने जनाएको छ ।
भिटामिन ए कार्यक्रममार्फत ६ देखि ५९ महिनाका बाललिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइनेछ । यस्तै, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने विभागले जनाएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला तथा ७५३ पालिकालाई जानकारी कार्यक्रम सञ्चालनका लागि जानकारी गराएको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले जनाए ।
‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिकालाई खुवाउने गरिन्छ ।
महाशाखाले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभिभावकलाई आग्रह गरेको छ ।














