काठमाण्डाै क्षेत्र नं. १० मा नवनिर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण

Thankot Times

थानकोट ।

मंसिर ४ गते सम्पन्न आम निर्वाचन निर्वाचित भएका काठमाण्डाै क्षेत्र नं. १० तथा प्रदेश दुवै क्षेत्रका सांसद्हरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ ।

कीर्तिपुरस्थित मतगणनास्थलमा शनिबार अपरान्ह आयोजित एक कार्यक्रमका बीच काठमाण्डाै क्षेत्र नंं १० का निर्वाचन अधिकृत फणेश्वरी घिमिरेले निर्वाचित भएको प्रमाणपत्र वितरण गर्नुभएको हो ।

सो क्रममा काठमाण्डाै जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले निर्वाचन स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद् दिँदै नवनिर्वाचित सांसद्हरूले नागरिकले अपेक्षा गरे अनुरूपका कार्य गर्ने वातावरण बन्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
प्रमाणपत्र वितरण कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै काठमाण्डाै जिल्लाका न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले यस क्षेत्रले रोजेका र खोजेका प्रतिनिधि चुनिसकेको हुँदा नवनिर्वाचित सांसद्हरूले जनभावना अनुरूप कार्य गर्नेमा
विश्वस्त रहेको बताउनुभयो ।

प्रमाणपत्र वितरण कार्यक्रममा बोल्नुहुँदै काठमाण्डाै क्षेत्र नंं १० का नवनिर्वाचित सांसद् राजेन्द्र कुमार केसीले लोकतन्त्रको सुन्दर पक्षका रूपमा रहेको आम निर्वाचन सफल बनाउन क्षेत्र नंं. १० का मतदाताले खेलेको भूमिका अत्यन्तै सह्राहनीय रहेको बताउनुभयो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत लगायतको समेत उपस्थिति रहेको थियो ।

काठमाण्डाै क्षेत्र नंं १० बाट प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका राजेन्द्रकुमार केसी विजयी हुनुभएको छ । केसीले १४४५८ मत पाउनु हुँदा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका हिमेश केसीले ११७८६ मत पाउनुभयो ।

 

त्यस्तै, काठमाण्डाै क्षेत्र नंं १० को प्रदेश १ मा नेपाली काँग्रेसका पुकार महर्जन विजयी हुनुभएको छ । महर्जनले १००८२ मत पाउनु हुँदा उहाँका निकटतम् प्रतिस्पर्धी राप्रपाका उमेशराज सापकोटाले ७४०० मत पाउनुभयो । काठमाण्डाै क्षेत्र नं. १० को प्रदेश २ मा नेकपा एकीकृत समाजवादीबाट रमा आलेमगर विजयी हुनुभएको छ । आलेमगरले ५८१० मत पाउनु हुँदा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका रामशरण आलेमगरले ५१८४ मत पाउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *