प्रतिनिधिसभामा तीन दम्पती

Thankot Times

थानकोट ।

यसपटकको निर्वाचन परिणामपछि प्रतिनिधिसभामा तीन जोडी दम्पती देखिने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट निर्वाचित भइसकेका छन् । उनकी पत्नी आरजु राणा समानुपातिकबाट सांसद बन्ने पक्का भएको छ । कांग्रेस केन्द्रीय सदस्य रहेकी आरजु खस-आर्य महिला समूहमा एक नम्बरमा सिफारिस भएकी छिन् । पार्टीले पाउने ३२ सांसदका लागि उनीसहितको नाम कांग्रेसले शनिबार निर्वाचन आयोगमा बुझाएको छ ।

एमाले सचिव रघुवीर महासेठदम्पती पनि प्रत्यक्षबाट निर्वाचित भएको छ । यो दम्पतीले सत्तागठबन्धनलाई पराजित गर्दै धनुषाका दुई क्षेत्रबाट जित निकालेको थियो । महासेठले धनुषा ४ र उनकी पत्नी जुलीकुमारी महतो धनुषा ३ बाट निर्वाचित भएकी थिइन् । जुली पनि एमाले केन्द्रीय सदस्य हुन् । महासेठले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवलाई र जुलीले लोसपाका नेता अनिल झालाई पराजित गरेकी थिइन् ।

यस्तै, जसपाका वरिष्ठ नेता अशोक राईदम्पतीलाई पनि संंसद् मा देखिनेछ । राई सुनसरी १ बाट निर्वाचित भएका थिए । समानुपातिकतर्फ पार्टीले पाएका पाँच सिटमध्ये उनकी पत्नी सुशीला श्रेष्ठको नाम पनि सांसदका लागि जसपाले आयोगमा बुझाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *