मंगलबारभित्र सरकार गठनको आह्वान गर्ने राष्ट्रपति भण्डारीको तयारी

Thankot Times

थानकोट । 

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंगलबारभित्र सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेकी छन् । निर्वाचन आयोगले चुनावी नतिजाको प्रतिवेदन बुझाइसकेको अवस्थामा राष्ट्रपतिले सरकार गठनका लागि दलहरूलाई आह्वान गर्ने तयारी गरेकी हुन् ।

निर्वाचन आयोगले चुनावको अन्तिम परिणाम बुझाएको ३५ दिनभित्र प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया पूरा गर्नुपर्ने संवैधानिक व्यवस्था छ । जसका कारण राष्ट्रपतिले सरकार गठनको लागि आह्वान गर्ने तयारी गरेकी हुन् ।

‘निर्वाचन आयोगले चुनावी नतिजाको प्रतिवेदन बुझाइसकेकाले राष्ट्रपतिज्यू सरकार गठनमा ढिलाई गर्ने पक्षमा हुनुहुन्न,’ राष्ट्रपतिका सञ्चार सल्लाहकार टीका ढकालले शिलापत्रसँग भने, ‘सम्भवतः मंगलबारभित्र उहाँले सरकार गठनका लागि आह्वान गरिसक्नुहुन्छ ।’

नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नेछिन् । उक्त उपधारामा प्रतिनिधिसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ ।

धारा ७६ को उपधारा १ मा भने प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ । तर, प्रतिनिधिसभामा कुनै पनि दलले स्पष्ट बहुमत नल्याएको अवस्थामा राष्ट्रपतिले उपधारा २ अनुसारको सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेकी हुन् ।

यसरी नियुक्त भएको प्रधानमन्त्रीले नियुक्त भएको मितिले तीस दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रपतिले आजै सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेकी थिइन् । तर, आज पुस १ गते प्रजातन्त्र हरणसँग जोडिएकाले राष्ट्रपतिले सरकार गठनका लागि आह्वान नगरेको शितल निवास स्रोतले जानकारी दियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *