मिटरब्याज पिडित ७३ जनाकाे टाेली महाेत्तरीबाट हिंडेर ११ दिनमा मातातीर्थ आइपुग्याे
थानकोट ।
चैत २ गते महोत्तरीको बर्दिबासबाट सुरु मिटर ब्याज पीडितहरूको पैदलयात्रा मातातीर्थ आइपुगेको छ । खाेटाङका २, दैलेखका १, झापाका १, कैलालीका १, माेरङका १, सप्तरीका १२, सिरहाका ३३, धनुषाका १७, महोत्तरीका २, सर्लाहीका २ , बाराका १ गरी ७३ जना महिला पुरुष तथा बालबालिकाहरुकाे टाेली आइतबार दिउँसो चन्द्रागिरि नगरपालिका ०६ मातातीर्थस्थित कुण्ड क्षेत्रमा आइपुगेको हाे ।
मिटर ब्याजबाट पिडित भएका उनीहरु सिंहदरबार पुगेर धर्ना दिने तयारीका साथ आएकाे मिटर ब्याज पिडित संघर्ष समितिका अगुवा मनाेज कुमार पासवानले जानकारी दिनुभयाे ।
पहिलाे दिन महाेत्तरीकाे गाैशालामा बसेकाे साे टाेली दाेश्राे दिन लालबन्दी, तेश्राे दिन बागमती, चाैथाे दिन चन्द्रनिगाहपुर, पाँचौ दिन निजगढ, छैटौं दिन पथ्लैया, साताैं दिन हेटौंडा, आठौं दिन भीमफेदी, नवाैं दिन इन्द्रसराेवर तथा हिजाे दशाैं दिन फाखेलमा बास बसेका थिए ।
उनीहरू आज मातातीर्थस्थित कुण्डमा रहेकाे सत्तलमा बस्नेछन् ।
स्थानीयबासीहरुले उनीहरुको लागि रासन पानीकाे व्यवस्था मिलाइदिएका छन् ।
प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले पैदलयात्रीहरुकाे साे टाेली सुरक्षा प्रबन्ध मिलाइएकाे जानकारी दिनुभयो ।
साे टाेलीमा ६ महिने बच्चासहित ७२ वर्षसम्मका महिला तथा पुरुषहरु सम्मिलित छन्। उनीहरु तमसुक खारेज, मिटर ब्याज पिडितहरुका लागि न्याय तथा पिडकहरुका लागि कारबाहीको मागसहित काठमाडौं आएका हुन् ।













