मातातीर्थमा बास बसेका मिटरब्याजी पीडितद्वारा सरकारको आग्रह अस्वीकार (फोटो फिचर)

Thankot Times

थानकोट । 

सरकारले मिटरब्याजीविरुद्ध आन्दोलन गर्न हिँडेर काठमाडौँ आइपुगेकाहरूलाई आफ्नो आन्दोलन स्थगित गर्न आग्रह गरेको छ । मिटरब्याजी पीडितहरू काठमाडौँ आएको थाहा पाउने बित्तिकै प्रधानमन्त्रीको निर्देशनमा गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेत नेतृत्वको टोली उनीहरू बसेकै ठाउँ चन्द्रागिरि नगरपालिका ६ मातातीर्थ मै आएर वार्ता गरेको हो ।

चैत २ गते महोत्तरीको बर्दिबासबाट हिँडेका मिटरब्याजी पीडितहरू आज दिउँसो काठमाडौँ आइपुगेका हुन् । बस्नेतले आन्दोलन स्थगित गरेर घर फर्कन आग्रह गरे पनि  उनीहरूले त्यसलाई अस्वीकार गरेका हुन् । उनले भने, ‘तपाईंहरु काठमाडौँका लागि हिँडेकै दिन प्रधानमन्त्री प्रचण्डले मिटरब्याजीको विषयमा गम्भीर भएर लाग्न र कानुन बनाउन निर्देशन दिनुभएको छ । तपाईंहरुको माग चाँडै समाधान हुन्छ । यहाँसम्म आउने आवश्यकता नै थिएन ।’

कानुन निर्माण गर्ने कामसहित सुदखोरलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन पनि दिइसकेको हुनाले आन्दोलन स्थगित गरेर घर फर्किन बस्नेतले आग्रह गरेको आन्दोलनकारी मध्येका एक मनोज पासवानले बताए । तर आन्दोलनकारीले न्याय नपाएसम्म काठमाडौँबाट नफर्किने भनेपछि सरकारी टोली सम्पूर्ण जानकारी लिएर फर्केिएका छन् । पीडितहरूले भोलिदेखि काठमाडौँमा आन्दोलन गर्ने बताएका छन् । हाल उनीहरु मातातिर्थमा छन् । उनीहरूको खानपानका तथा बासका लागि स्थानीय बासीले सहयोग गरेका छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *