जथाभावी फोहर फाल्नेलाई कारबाही गर्न काठमाडाैं महानगरले थाल्यो रात्रिकालीन अनुगमन

Thankot Times

थानकोट । 

सार्वजनिक ठाउँमा फोहर फाल्ने क्रम बढेपछि काठमाण्डाै महानगरपालिकाले निगरानी बढाएको छ ।  

सार्वजनिक ठाउँमा रातको समयमा फोहर फाल्ने बढेपछि महानगरले हरेक दिन रात्रिकालीन अनुगमन गर्न थालेको हाे । जथाभावी फोहर फालेको भन्दै महानगरले गएकाे हप्ता जरिवानास्वरूप १५ हजार  रुपैयाँ असुलेको छ । गएकाे बिहीवार वडा नं १४ को कुलेश्वर क्षेत्रमा बा ४ च ३३४ नम्बरको गाडीले बोरामा हालेको फोहर फाल्दै गर्दा महानगरको रात्रिकालीन अनुगमन टोलीले पक्राउ गरी जरिवाना असुल गरेको हो।

जरिवाना असुल गरी  गाडीलाई फोहर जथाभावी नफाल्ने सर्त राखेर रिहा गरेको कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिनुभयो । दुई हप्ताअघि पनि कामपाले तोकिएको ठाउँ भन्दा अन्यत्र फोहर फाल्नेबाट कारवाहीस्वरूप १२ हजार रुपैयाँ जरिवाना असुल गरेको थियो । 

वातावरण विभागका अनुसार हरेक दिन बिहान फोहरको व्यवस्थापन गर्नका लागि कामपाको फोहर सङ्कलन गर्ने गाडी आउने गर्दछ । कामपाको आग्रहलाई नागरिकले बेवास्ता गरेको भन्दै पछिल्लो समय कामपाले नियमितरूपमा अनुगमन गरी जरिवाना तिराउन थालेको छ । 

फोहरलाई तोकिएको ठाउँमा मात्र व्यवस्थापन गर्नका लागि कामपाले हरेक दिन बिहान माइकिङ गर्ने गरेको छ । ‘नागरिकले सडकमा यत्रतत्र फोहर फाल्न थालेपछि कामपाले नफाल्नका लागि आग्रह गरी अटेर गर्नेलाई पाँच सयदेखि पाँच हजार रुपैयाँसम्म जरिवानासमेत तिराउने गरेको छ’, प्रमुख श्रेष्ठले भन्नुभयो । 

काठमाडाैं महानगरपालिकाले पछिल्लो समय सडक पेटी तथा फुटपाथमा निर्माण सामग्री हटाउने काम नियमित गरिरहेको छ । पैदलयात्री हिँड्ने सडकपेटीमा निर्माण सामग्री राखिएको भन्दै कामपाले पछिल्लो समय यस्ता सामग्री सम्बन्धित व्यक्तिलाई हटाउन आग्रह पनि गरिरहेको छ । महानगरको आग्रह अटेरी गरे अनुगमन गरी जरिवाना गर्ने गरेको छ । 

उपत्यकाको १८ पालिकाकाे फोहर अन्तिम व्यवस्थापनका लागि हरेक दिन दुई सय गाडी फोहर बोकेर बञ्चरेडाँडामा जाने गर्दछन् । पुतलीसडक क्षेत्रमा इन्टरनेट सेवा प्रदायकले तार काटेर सार्वजनिक आवागमनमा बाधा गरेकाले दुर्घटनाको खतरा बढाएको भन्दै महानगरले अनधिकृत फोहर उत्पादन गरेर सहरी व्यवस्थापनलाई बाधा नगर्न आग्रह गरेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ