चन्द्रागिरिमा हावाहुरीको वितण्डा, टनेलदेखी होर्डिङ बोर्डसम्म उडायो, विद्युत सेवा अझै अवरूद्ध

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरसहित काठमाडौं आसपास क्षेत्रमा आइतबार साँझ हावाहुरीले वितण्डा मच्चाएको छ।

हावाहुरीकै कारण चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थमा एक महिलाको ज्यान गएको छ ।

आइतबार साँझको हावाहुरीका कारण मातातीर्थमा एक महिलाको मृत्यु

साँझ साढे ७ बजे आएको हावाहुरीले काठमाडौं सडकमा वितण्डा मच्चाएपछि पैदययात्रीहरूमा केहीबेर भागाभाग समेत भएको थियो ।

हावाले चन्द्रागिरि नगरका सडकमा राखिएका प्लास्टिकमा डिभाइडर, पसलहरूमा राखिएका होर्डिङ बोर्ड, सडकमा टाँगिएका होर्डिङ बोर्ड तथा तरकारीका खेतीका लागि राखिएका टनेलहरूमा समेत क्षति पुर्याएको छ । 

हावाहुरीका कारण सडकमा हिंड्ने यात्रु र सवारी साधनलाई सकस परेको थियो ।

मोटरसाइकल कुदाइराखेका यात्रुहरु बाइक रोकेर ओत लागेका थिए ।

हावाहुरीले  होर्डिङ बोर्ड बीच सडकमै थुपारेपछि सडक अवरुद्ध भएको थियो भने यात्रु र सवारीलाई बाटो काट्न असहज भएको देखिन्थ्यो ।

हावाहुरीपछि चन्द्रागिरि नगरका अधिकाशं क्षेत्रमा विद्युत सेवा अवरूद्ध भएको थियो । मध्यरातबाट केही स्थानमा विद्युत सेवा सुचारू हुँदा सोमबार बिहानसम्म केही स्थानमा विद्युत सेवा सुचारू हुन सकेको छैन् ।

नेपाल विद्युत प्राधिकरण बलम्बु उपवितरण केन्द्रका अनुसार केही स्थानमा पूरा भोल्टेज विद्युत सप्लाइ नभएको गुनासो प्राप्त भएको छ । यसैगरी कतिपय स्थानमा विद्युत सेवा अवरूद्ध भएको र सो को कारण पहिचानको कार्य  जारी रहेको छ ।

हावाहुरीबाट के कति क्षति भएको छ भन्ने बारेमा विवरण संकलनको कार्य जारी रहेको प्रहरी वृत्त थानकोटले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *