चन्द्रागिरि नगरपालिकाले बलम्बु माध्यमिक विद्यालयलाई प्राविधिक शिक्षालय बनाउने

Thankot Times

थानकोट ।
चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरि नगरपालिका- १२ मा रहेको बलम्बु रहेको बलम्बु माध्यमिक विद्यालयलाई प्राविधिक शिक्षालयका रूपमा विकास गर्ने भएको छ ।

शुक्रबार सो सन्दर्भमा नगरपालिका, कोरियाली गैरसरकारी संस्था वर्ल्ड ड्रिमको नेपाली संस्था सोड नेपाल तथा विद्यालयबीच त्रिपक्षीय सम्झाैता भएको हो ।

सम्झाैतासँगै अब सो विद्यालयमा भवन निर्माणसहित प्राविधिक शिक्षालय निर्माण र संचालन हुनेछ ।

सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा नगरप्रमुख घनश्याम गिरी, नगर उपप्रमुख बसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्णप्रसाद खड्गी, चन्द्रागिरि वडा नं १२ का अध्यक्ष न्हुच्छे बहादुर महर्जन, बलम्बु माविका प्रधानाध्यापक सुमन राउत, सोड नेपालका केन्द्रीय अध्यक्ष ज्ञान प्रसाद श्रेष्ठलगायत सोड नेपालका अन्य पदाधिकारीहरु तथा बलम्बु माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानदास महर्जन लगायतको उपस्थिति रहेको थियो।

बलम्बु माविलाई प्राविधिक शिक्षालय बनाउने विषयको सम्झाैता पत्रमा हस्ताक्षर भएपछि नगरप्रमुख घनश्याम गिरीले नगरको “पढ्दै कमाउँदै” अवधारणा अनुसार सुरुवाती चरणमा बलम्बु माध्यमिक विद्यालयलाई प्राविधिक शिक्षालय बनाउन लागिएको र भविष्यमा नगरका अन्य विद्यालयमा पनि प्रविधिसम्बन्धी पठनपाठन संचालन गरी विद्यार्थीको कक्षा १२ को पढाइ सकिँदासम्म प्राविधिक सीप र ज्ञान हासिल गर्ने र आयआर्जन गर्ने वातावरण सृजना गरिने बताउनुभयो ।

सोड नेपालमार्फत सो प्राविधिक शिक्षालय निर्माण र संचालनमा आर्थिक सहयोग प्राप्त हुने सो क्रममा जानकारी दिइएको थियो । सो कार्यका लागि नगरपालिकाले ३०% र कोरियन संस्थाले ७०% आर्थिक व्ययभार लिने गरि उक्त निर्माण कार्य संचालन हुनेछ।

सो सम्झौताअनुसार बलम्बु माध्यमिक विद्यालयमा निकट भविष्यमा नै ४ वटा प्राविधिक क्षेत्र (मोबाइल मर्मत, इलेक्ट्रिसियन, ब्युटी पार्लर र अटोमोबाइल) का विषय अध्यापन गराइनेछ । ती विषयमा विद्यार्थीहरूले १२ कक्षा उत्तीर्ण हुने बित्तिकै शैक्षिक प्रमाणपत्रका साथै प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीइभीटी) को प्रमाण पत्रसमेत प्राप्त गर्ने नगरप्रमुखले जानकारी दिनुभयो ।

अब बलम्बु माध्यमिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म ती प्राविधिक विषयको पठन पाठन सुरू हुनेछ ।

कोरिया सरकारसँग चन्द्रागिरि नगरपालिकाले कायम गर्दै आएको भगिनी सम्बन्धले पनि यस कार्यमा साथ सहयोग जुटेको नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो ।

सबै तस्बिरः नगरप्रमुखको सचिवालय


Leave a Reply

Your email address will not be published. Required fields are marked *