ललिता निवास प्रकरण : थानकोटबाट समातिए एक व्यक्ति

Thankot Times

थानकोट ।

मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवासको जग्गा हिनामिना गरेको मुद्दामा विभिन्न ७ जनालाई नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा प्रतिवादी नबनाएका कतिपय आरोपितहरू सरकारी छाप दस्तखत किर्ते मुद्दामा संलग्न देखिएका छन् ।

मंगलबार पक्राउ पर्नेमा भाटभटेनी सुपर मार्केटका सञ्चालक ६९ वर्षीय गुरुङ बाहेक ६ जना डिल्लीबजार मालपोतमा काम गरेका पूर्व कर्मचारी छन् । पूर्व निर्वाचन आयुक्त ६९ वर्षीय सुधीर कुमार शाह पनि मालपोत कार्यालय डिल्लीबजारमा काम गर्दा ‘किर्ते’ कसुरमा संलग्न भएका हुन् । 

मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, शाखा अधिकृत धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, हुपेन्द्रमणि केसी र अवकाश प्राप्त खरिदार गोपाल कार्कीलाई उपत्यकाको विभिन्न ठाउँबाट पक्राउ गरिएको सीआईबीकी एआईजी किरण बज्राचार्यले बताइन् ।

कोटेश्वरबाट पक्राउ परेका देउजा ७१ वर्षका छन् । भक्तपुरको सुर्यबिनायक घर भएका देउजा पछिल्लो समय कोटेश्वरमा बस्दै आएका छन् । आफन्तले उनी ‘क्यान्सर पीडित’ भएको भन्दै सीआईबीका अधिकारीहरूलाई भेटेर थुनामा नराखिदिन आग्रह गरेका छन् । 

शाखा अधिकृत धर्मप्रसाद गौतमलाई ब्यूरोले रातोपुल स्थित घरबाट पक्राउ गरेको हो ।

शाखा अधिकृतबाट २५ वर्षअघि अवकाश पाएका गौतम ८० वर्षका छन् । अधिकृतबाटै अवकाश लिएका सुरेन्द्रमान कपाली बांगेमुढा स्थित तलाँछीबाट पक्राउ परे । उनी ७९ वर्षका छन् । 

६५ वर्षीय हुपेन्द्रमणी पनि शाखा अधिकृत पदबाट रिटायर्ड भएका हुन् ।

उनलाई लोकन्थलीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एकजना अधिकृतले बताएको रातोपाटीमा खबर छ । गोपाल कार्की चन्द्रागिरि नगरपालिका खेलेम्बुबाट पक्राउ परेका हुन् ।

यसैबीच प्रहरीले पक्राउ गरेका कलाधर देउजा, भूपेन्द्रमणि केसी र अर्का सुरेन्द्रमान कपालीले उच्च अदालत पाटनबाट स्टेअर्डर लिएको पाइएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिएका छन् ।

स्टे अर्डर लिएका ३ जनालाई आज नै रिहा गरिएको छ, उनीहरूलाई हिरासतबाहिरै राखेर अनुसन्धान गरिने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *