आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचारी ठहर, थानकोट डिपोमा पनि कनेक्सन

Thankot Times

थानकोट । 

नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचारी ठहर भएका छन् । उक्त भ्रष्टाचारको मुद्दामा उनी दोषी ठहर भएका हुन् । 

गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको अभियोगमा उनी विशेष अदालतबाट दोषी ठहर भएका हुन् ।

शुक्रबार न्यायाधीशत्रय श्रीकान्त पौडेल, शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

खड्कालाई एक वर्ष तीन महिना कैद सजाय हुने फैसला भएको छ । 

बिगो बमोजिमको ९ करोड ३३ लाख २५ हजार ३१४ रुपैयाँ बराबरको जरिबानाको फैसलासमेत भएको छ ।

विवादित पृष्ठभूमि भए पनि खड्कालाई आयल निगम हाँक्ने जिम्मा दिइएको थियो। खडका नियुक्ति हुनुअघि नै विभिन्न घोटालामा मुछिएका थिए। निगमको नेतृत्वमा आएपछि अनियमितताको रफ्तार झनै बढेको थियो।

२०७२ सालको नाकाबन्दीका कारण इन्धनको हाहाकार भएपछि निगमले भारत, चीन, मलेशिया, अरब लगायत तेस्रो मुलुकबाट पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास आपूर्ति गर्न निजी क्षेत्रलाई अनुमति दियो। यसमा २० भन्दा बढी कम्पनी सहभागी भए पनि खड्काले विराट पेट्रोलियमलाई २० करोड रुपैयाँ पेस्की सहित आपूर्ति अनुमति दिलाएका थिए। यसमा समेत अनियमितता भएको आरोप लागेको थियो, तर दुई खेप इन्धन बेचेपछि विराट पेट्रोलियम आफैं पछि हट्यो।

नाकाबन्दीका वेला कार्यकारी निर्देशक खड्का र तत्कालीन थानकोट डिपो प्रमुख रविन शर्माको मिलेमतोमा इन्धन तस्करी हुने गरेको पाइएको थियो। थानकोट डिपोका प्रमुख शर्मालाई प्रहरीले इन्धन अपचलन गरेको अभियोगमा २०७२ मंसीरमा पक्राउ गरेपछि यो भेद खुलेको थियो। एक लाख ३६ हजार लिटर पेट्रोल मनपरी ढङ्गले बेचेको आरोपमा शर्मा पक्राउ परेका थिए।

त्यस वेलाको मूल्य अनुसार त्यति परिमाणको पेट्रोल एक करोड १० लाख ८४ हजार रुपैयाँ बराबरको हुन्छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *