गायक तथा कलाकार रोबिन तामाङको निधन

Thankot Times

थानकोट ।

नेपालका चर्चित गायक तथा कलाकार रोबिन तामाङको निधन भएको छ ।

नेपाली रक ब्यान्ड ‘रोबिन एन्ड द न्यू रिभोलुसन’ का संस्थापकसमेत रहेका तामाङको मंगलबार साँझ निधन भएको हो ।

काठमाडौंको बुढानीलकण्ठस्थित निवासमा उनको निधन भएको जनाइएको छ ।

ब्रिटिश सेनामा सक्रिय परिवारको कान्छो सन्तानको रुपमा उनको जन्म सिंगापुरमा भएको थियो । सिंगापुरमै अध्ययन गरेका उनी बाल्यकालदेखि नै अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र लन्डनको अंग्रेजी रक ब्यान्ड डीप पर्पलबाट प्रेरित थिए । जब उनी १९८० मा टोरन्टोको हम्बर कलेजमा पढिरहेका थिए, त्यसबेला उनले एक ब्यान्डमार्फत् विभिन्न ठाउँमा प्रस्तुती दिएका थिए ।

सन् १९९६ मा नेपाल आएका रोविनका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता कयौं गीत युवापुस्तामाझ चर्चित छन् । उनी अभिनयमा समेत अब्बल मानिन्थे । उनले ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत एक दर्जन बढी नेपाली फिल्ममा अभिनय गरेका छन् । विशेषगरी उनी भिलेनको भूमिकामा देखिने गरेका थिए ।

रोविनले हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका छन् । उक्त सिरिज अमेजन प्राइममा उपलब्ध छ ।

सिरिजमा उनले भिलेनको भूमिका निभाएका छन् । उनी अभिनीत पछिल्लो रिलिज फिल्म ‘छड्के २’ हो । उनको निधनको खबरले संगीत र फिल्म क्षेत्र स्तब्ध बनेको छ ।  पोस्टमार्टमका लागि रोबिनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *