देशभर बिहानैदेखि वर्षा, कस्ताे रहला दिनभरकाे माैसम !

Thankot Times

थानकोट ।

देशका केही भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । आज मध्यमदेखि केही भू–भागमा भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान कोसी तथा मधेस प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी तथा मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

झापाको केचना र आसपासका क्षेत्रमा केही घण्टादेखि भारी वर्षा भइरहेको छ । उक्त जिल्ला भई बहने स–साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनेहरूले सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यसैबीच, काठमाडौंमा आज वर्षाको सम्भावना रहेको छ । मध्याह्नपछि वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्य बताउँछिन् । “काठमाडौंमा आज मध्याह्नपछि वर्षाको सम्भावना रहेको छ,” उनले भनिन्, “काठमाडौंमा भने भारी वर्षाको सम्भावना छैन । हल्कादेखि मध्यम वर्षा हुनेछ ।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *