गुर्जुधारास्थित ट्रायल सेन्टरमा अर्काको नाममा लाइसेन्सको ट्रायल दिने गगन प्रहरी नियन्त्रणमा
थानकोट ।
ट्राफिक प्रहरीले आइतबार गुर्जुधारास्थित ट्रायल सेन्टरबाट अर्काको नामको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा दिने परीक्षार्थीलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले यातायात व्यवस्था कार्यालय ठूलो भर्याङले गुर्जुधारामा सञ्चालन गरेको प्रयोगात्मक परीक्षामा दैलेखको महाबु गाउँपालिका १ का ३५ वर्षीय निरज पाठकको सट्टामा ट्रायल दिंदै गरेका ललितपुरको सातदोबाटो बस्ने कालीकोटको महावै गाउँपालिका ६ का ३३ वर्षीय गगन शाहीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार प्रारम्भिक चेकजाँच गर्दा पाठकको नागरिकतामा शाहीले फोटो टाँसेर ट्रायल परीक्षा दिएको पाइएको थियो ।
शाहीमाथी लिखत सम्बन्धी कसूरमा ५ दिन म्याद थप गरि प्रहरी वृत्त थानकोटबाट अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ।
अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तिलाई रोक्नको लागी विशेष कडाइ गरिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताउनुभयो ।












