यस्तो छ नागढुंगा सुरुङमार्ग पिडितको समस्या र समाधानको उपायसहितको प्रतिवेदन
थानकोट ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नागढुंगा सुरूङमार्ग आयोजना प्रमुख नवीन श्रेष्ठलाई चन्द्रागिरि नगरपालिका-२ घट्टेडाँडाबाट फोनमा निर्देशन दिएको अनुसार नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले प्रधानमन्त्री दाहाललाई नागढुङ्गा सुरुङमार्ग निर्माणका कारण आइपरेका समस्या र समस्या समाधानका लागि सुझावसहितको प्रतिवेदन पेश बुझाएको छ ।
१० पृष्ठको सो सुझावसहितको प्रतिवेदनमा नागढुङ्गा सुरुङमार्ग निर्माणका कारण स्थानीयहरूले खेप्न परेको समस्या, आयोजनाले व्यहोर्न परेको समस्या तथा समाधानका उपायहरू समेत उल्लेख गरिएका छन् ।
सो प्रतिवेदनमा आयोजनाको पुर्वीद्वारपट्टि करिब ६० वटा घरहरुमा दरार/चिराहरु देखिएकाले स्थानियले पटक पटक आयोजनाको काम बन्द गर्ने गरेको व्यहोरा उल्लेख छ भने भवन विभागमा अनुरोध गरि ती संरचना/भवन निरिक्षणका लागि समिति गठन भइ अध्ययन कार्य शुरु भएको समेत उल्लेख छ । भवन विभागको निरिक्षण प्रतिवेदनका आधारमा क्षतिपुर्ति रकम यकिन गरि सो बराबरको बजेट थप भइ यथासिघ्र सो समस्या समाधान गर्नुपर्ने विषय समेत सुझावका रूपमा सो प्रतिवेदनमा उल्लेख छ । जसका लागि स्थानिय तह,सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा स्थानीयको सकारात्मक सहयोग आवश्यक पर्ने बताइएको छ।
यसैगरी आयोजनाको पश्चिम द्वारपट्टि गएको पहिरो रोकथामका लागि निर्माण गर्नुपर्ने संरचनाहरु निर्माण गर्न स्थानियबाट अबरोध भएको, आयोजना नजिक रहेको बस्तिमा सडक निर्माण गरिदिनुपर्ने, पहिरो गएको सम्पुर्ण क्षेत्र अधिग्रहण गर्नुपर्ने, रोकथामका लागि बनाइने संरचनाहरु स्थानियले भनेअनुसार हुनुपर्ने मागहरु रहेको समस्या सो प्रतिवेदनमा उल्लेख छ ।
सो प्रतिवेदनमा जग्गा अधिग्रहण, फ्लाइओभर निर्माण क्षेत्रमा रहेको समस्या निर्माणस्थलको समस्या, खानेपानीको समस्या र घर चर्किएको समस्या तथा रोड साइट सर्भिस स्टेशनको समस्या समस्या पहिचान भएको र तीनका समाधानका उपायहरू समेत उल्लेख प्रधानमन्त्री दाहाललाई बुझाइएको बताइएको छ।
भदाै १६ गते चन्द्रागिरि नगरपालिका-२ बाँडभञ्ज्याङस्थित घट्टे डाँडामा आयोजित जनतासँग माओवादी विशेष अभियानका उद्घाटनका क्रममा प्रधानमन्त्री दाहालले स्थानीयहरूको गुनासो सुन्दै सो को समाधानका लागि नागढुंगा सुरुङ मार्ग आयोजना प्रमुख नवीनमान श्रेष्ठलाई कार्यक्रमस्थलबाटै फोन गरेका थिए ।














