यी हुन चन्द्रागिरि-१५ तीनथानास्थित बखु खोलामा मृत भेटिएका पुरूष, सनाखत अझै हुन सकेन
थानकोट ।
गत आइतबार बिहान करिब ७ः३० बजे चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित बखु खोलामा मृत फेला परेका एक पुरुषको अझै सनाखत हुन सकेको छैन् ।
प्रहरी वृत्त थानकोटले थानकोट टाइम्सलाई दिएको जानकारी अनुसार अन्दाजी ३५ वर्ष जति उमेर देखिने ती पुरूषको शव हाल त्रिवि शिक्षण अस्पतालमा सुरक्षित राखिएको छ ।
शवको पोष्टमर्टन हुन बाँकी रहेकोले के कति कारण ती व्यक्तिको मृत्यु भएको हो सो खुल्न नसकेको प्रहरी वृत्त थानकोटले जनाएको छ।
प्रहरी वृत्त थानकोटका अनुसार सो शव चन्द्रागिरि र कीर्तिपुर नगर जोड्ने झोलुङ्गे पुल मुनी खोलामा फेला परेको हो ।
यसैबीच प्रहरी वृत्त थानकोटले मृत अवस्थामा भेटिएका पुरुषको पहिचानका लागि सहयोग गर्न अनुराेध गरेकाे छ ।
शुक्रबार बिहान वृत्तले सामाजिक सञ्जालमा हुलिया उल्लेख गर्दै ती मृत पुरुषको पहिचानका अनुरोध गरेको हो।
गहुँगोरो वर्ण, निलो टिसर्ट र खैरो ट्राउजर लगाएको, कालो छोटो कपाल भएको, कालो हल्का दाह्री भएको, बायाँ हातको नाडीमा एसओएस जस्तो देखिने अक्षर लेखेको ट्याटु भएको, दाहिने हातमा रक्षाबन्धनको धागो बाँधेको, अन्दाजी ५ फिट ६ इन्च उचाई भएका पुरुषकाे सनाखत हुन नसकेकाले आफन्तले प्रहरी वृत्त थानकोट वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

तस्बिरहरू: प्रहरी वृत्त थानकोट ।














