कलंकीस्थित शहीद मेमोरियल अस्पतालको सिईओमा समीर शर्मा नियुक्त
थानकोट ।
कलंकीस्थित शहीद मेमोरियल अस्पतालको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा समीर शर्मा नियुक्त भएका छन् ।
आइतबार (६ बैशाख) देखि लागु हुने गरी अस्पतालले शर्मालाई सो पदमा नियुक्त गरेको हो । खुला प्रतिस्पर्धाबाट छनोट भएका शर्माले अब पाँच वर्ष १०० शय्याको सो अस्पतालको कमाण्ड सम्हाल्नेछन्।
शहीद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडअन्तर्गत सञ्चालित शहीद मेमोरियल अस्पतालको पहिलो सिईओका रुपमा कार्यभार सम्हालेका शर्माले सर्वसुभल शुल्कमा बिरामीलाई सेवामा दिने अस्पतालका रुपमा विकास गर्न आफ्नो प्रयास रहने बताएका छन् ।
उनी यसअघि कलंकीकै नेपाल नेशनल अस्पतालको व्यवस्थापक थिए ।
एचए पृष्ठभूमीका शर्मासँग हस्पिटल प्रशासन, क्लिनिकल कोर्डिनेसन, मेडिकल अडिट, क्वालिटी इम्प्रुभमेन्ट, मेडिकल डकुमेन्टेसन, स्वास्थ्य सेवा व्यवस्था र शिक्षणसम्बन्धी झण्डै एक दशक लामो अनुभव छ ।
पोखरा विश्वविद्यालयबाट हेल्थकेयरमा स्नातक गरेका शर्माले सोही विश्वविद्यालयबाट हेल्थकेयर म्यानेजमेन्टमा स्नातकोत्तर गरेका शर्मा क्लिनिक अडिट विषयमा बेइजिङस्थित क्यापिटल मेडिकल युनिभर्सिटीबाट विद्यावारिधी गर्दैछन् ।
कलंकीचोकस्थित शहीद मेमोरियल अस्पतालको आफ्नै जनस्वास्थ्य कलेजसमेत सञ्चालनमा छ ।












