संविधान दिवसका अवसरमा चन्द्रागिरि नगरमा स्वास्थ्य शिविर, सरसफाई तथा दीप प्रज्जवलन कार्यक्रम
थानकोट ।
सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको स्मरणमा हरेक वर्ष मुलुकभर मनाइने संविधान दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।
संविधान दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । जहाँ राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी भएका छन्।

संविधान दिवसको अवसरमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संविधान दिवसका अवसरमा नक्सालस्थित नारायणचौरमा एमालेले बुधबार राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरेको छ ।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी थिए ।

चन्द्रागिरि नगरमा संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना हुने भएका छन् । चन्द्रागिरि नगरपालिकाले भदाै २७ गते सूचना जारी गर्दै सबै वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरूमा तथा नगरबासीहरूमा दीप प्रज्ज्वलन गरी संविधान दिवस मनाउन अनुरोध गरिसकेको छ ।
संविधान दिवसका अवसरमा चन्द्रागिरि नगरमा कहाँ के हुँदैछ कार्यक्रम ?
संविधान दिवसको अवसरमा चन्द्रागिरि नगरपालिका वडा नं. ०२ को कार्यालय बाँडभञ्ज्याङले अपरान्ह ५ बजे नागढुंगा चोकमा दीप प्रज्ज्वलन कार्यक्रम राखेको छ ।
चन्द्रागिरि नगरपालिका वडा नं. ०३ को कार्यालय थानकोटले वडा कार्यालय हातामा संविधान दिवसका अवसरमा दिउँसो ३ बजे दीप प्रज्ज्वलन कार्यक्रम राखेको छ ।
चन्द्रागिरि नगरपालिका वडा नं. ०५ को कार्यालय महादेवस्थान, किसीपिडीले साँझ ५ बजे लाछी पोखरी क्षेत्रमा संविधान दिवसका अवसरमा दीप प्रज्ज्वलन कार्यक्रम राखेको बताइएको छ ।
यसैगरी चन्द्रागिरि नगरपालिका वडा नं. ०६ को कार्यालय महादेवस्थानले अपरान्ह ४ बजे चेकपोष्टस्थित वडा कार्यालय प्राङ्गणमा सरसफाईसहित दीप प्रज्ज्वलन कार्यक्रम राखेको छ ।
संविधान दिवसकै अवसरमा चन्द्रागिरि नगरपालिका वडा नं. १२ बलम्बुको आयोजनामा बुधबार बिहान गुर्जुधारा चोक लगायतको क्षेत्रमा सरसफाई गरिएको छ ।

संविधान दिवसको अवसरमा चन्द्रागिरि नगरपालिका वडा नं १५ तीनथानाको आयोजना तथा विभिन्न संस्थाहरूको सहयोगमा विष्णुदेवी मन्दिर परिसरमा रक्तचाप तथा मधुमेह जाँच शिविर सञ्चालन गरिएको छ।















