नेकपा एमाले बागमती प्रदेश अधिवेशनः नेतृत्व चयनमा सहमति हुन नसकेपछि बिहीबार मतदान गरिने
थानकोट ।
नेकपा एमाले बागमती प्रदेश अधिवेशनको उम्मेदवारी दर्ता भोलि (बुधबार) हुने भएको छ । एमाले बागमती प्रदेशले निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै उम्मेदवारी दर्ता भोलि र निर्वाचन बिहीबार गर्ने जनाएको हो ।
एमाले नेता शेर बहादुर तामाङका अनुसार निर्वाचन कार्यक्रम बुधबार बिहान ८ बजेदेखि सुरु हुनेछ । उनका अनुसार बिहान ८ बजे मतदाता नामावली प्रकाशन, ९ बजे अन्तिम नामावली प्रकाशन, ९ देखी ११ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ ।
यस्तै दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ ।
नेता तामाङका अनुसार असोज ११ गते बिहीबार मतदान हुनेछ । मतदान बिहान ८ बजेदेखि सुरु हुने एमाले बागमती प्रदेश कमिटीले जनाएको छ ।
एमाले बागमती प्रदेश कमिटीको नेतृत्व सहमतिमै चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन हुन लागेको हो । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २४० सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार उद्घाटन गरेको बागमती प्रदेश अधिवेशन नयाँ नेतृत्व चयन गरेर सकिनेछ ।












