२२ रोपनी क्षेत्रफलमा दहचोकमा खुलेको खसी बजारका बारेमा चन्द्रागिरि बासीहरू नै अनविज्ञ !
थानकोट ।
दसैंको चहलपहल सुरु हुँदै गर्दा काठमाडौंमा व्यापारीहरुले खसीबोका भित्र्याउने तयारी गरिसकेका छन्।
काठमाडौंको नेपाल पशु चौपाया खरिद बिक्री केन्द्रले दसैंका लागि घटस्थापना लगत्तै खसी बोका ल्याउन थालिसकेको छ।
चन्द्रागिरि नगरपालिका १ दहचोकमा रहेको केन्द्रले यसपटक विभिन्न जिल्लाबाट ल्याइने करिब १० हजार खसी बोका तथा भेडा, च्याङ्ग्रा बिक्री गर्ने लक्ष्य राखेको सो केन्द्रका संयोजक श्याम थापाले जानकारी दिए ।
सो केन्द्रमा खरी, बोइर, बोयर क्रश, मारवारी लगायतका विभिन्न जातका ९० केजी ताैल सम्मका बोका तथा खसी भित्रिएका छन् । खासगरी खरी जातका खसी बोकाको मासु लोकप्रिय मानिने थापाले बताए ।
काठमाडाैं उपत्यकाका विभिन्न स्थानमा खसी बोका सप्लाइ गर्दै आएको सो केन्द्र गत वर्षबाट सञ्चालनमा आएको हो ।
करिब २२ रोपनी क्षेत्रफलमा फैलिएको केन्द्रबाट प्रतिकेजी ६ सय ७० रूपैयाँ आसपास खसी बोका बिक्री भइरहेको संयोजक थापाले बताए ।
यसअघि कलंकी खसी बजारमा कारोबार गर्दै आएको कृषि समुहले चन्द्रागिरि नगरपालिका- १ दहचोकमा चाैपाया पालन, संकलन तथा खरिद बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो ।
केन्द्रमा भित्र्याइने हरेक खसी बोका तथा भेडा च्याङ्ग्राको स्वास्थ्य परीक्षणका लागि पशु प्राविधिकहरूको व्यवस्था गरिएको चौपाया खरिद बिक्री केन्द्रले जनाएको छ ।










