एसीसी यू-१९ प्रिमियर कप: नेपाल सेमिफाइनलमा, साउदी अरेबीया ३०२ रनले पराजित
थानकोट ।
नेपाली किशोर क्रिकेट टोली मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कपको सेमीफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार सम्पन्न खेलमा साउदी अरेबियालाई ३०२ रनको विशाल अन्तरले हराउँदै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर ३४८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको साउदी अरेबियाले भने १९.१ ओभरमा अलआउट हुनुअघि ४६ रनमात्र बनाउन सक्यो ।
मलेसियामा जारी उक्त प्रतियोगितामा नेपालको जितमा ओपनर ब्याट्सम्यान अर्जुन कुमालले एक सय ४२ रनको योगदान गरे । उनी अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडी पनि बनेका छन् ।
प्रतियोगितामा १६ राष्ट्र सहभागी छन् । नेपाल प्रतियोगिताको समूह ‘ए’ मा छ । तालिकाको पहिलो स्थानमा रहेको नेपालले आफ्नो तीनवटै खेलमा जित हात पार्दै ६ अंक बटुल्यो । यो प्रतियोगिताबाट तीनवटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यु—१९ एसिया कपमा छनोट हुनेछन् ।
छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने टोली एसीसी यु-१९ एसिया कपको समूह ‘ए’ मा पर्नेछन् ।
त्यो प्रतियोगिताको समूह ‘ए’ मा भारत र पाकिस्तान छन् । छनोट प्रतियोगितामा तेस्रो हुने टोली भने एसीसी यु-१९ एसिया कपको समूह ‘बी’ मा पर्नेछ ।
पाकिस्तानमा आयोजना हुने प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् ।












