दशैंको दोस्रो दिन आजपनि टीका र जमरा लगाउने क्रम जारी, कलंकी क्षेत्रमा सवारी साधनको चाप
थानकोट ।
हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम आज बडादसैँको दोस्रो दिन पनि जारी छ ।
विजयादशमीको शुभसाइत मंगलबार नै सकिए पनि टीका थापेर आशीर्वाद लिने क्रम आज एकादशीका दिन पनि जारी छ । टाढा रहेका आफन्त तथा मान्यजनहरु कहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैंको टीका थाप्ने र आशिर्वाद लिने चलन छ । त्यसैले आज टीकाको दोस्रो दिन पनि टीका लगाउन आउ–जाउ गर्नेहरुको चहलपहल जारी छ ।
आश्विन शुक्ल दशमीअर्थात् विजयादशमीदेखि सुरु भएको यो क्रम आश्विन शुक्ल पूर्णिमाअर्थात् कोजाग्रत पूर्णिमाका दिन सबै ९अखिल०बलि पूर्ति नभएसम्म जारी रहन्छ । कोजाग्रत पूर्णिमाका अवसरमा आजसम्म नवदुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
कलंकीचोकमा बुधबार बिहान आफन्त तथा मान्यजनहरु कहाँ टीका थाप्न जान खोज्नेहरू सवारी साधनहरू कुरेर उभिएको भीड ठूलै देखिन्थ्यो भने सवारी साधनहरूको लाम पनि लामै लागेको थियो ।
सो दृश्य ढुंगा अड्डा क्षेत्रसम्म नै देखिन्थ्यो ।










